close

कहिले पक्राउ पर्लान् १७ वर्षीया भागरथीका बलात्कारी ? (भिडियाे खबर)

कहिले पक्राउ पर्लान् १७ वर्षीया भागरथीका बलात्कारी ? (भिडियाे खबर)

ADVERTISEMENT

बैतडी- पछिल्लो समय मुलुकमा बढ्दो अपराधले पुनः समाजलाई आतंकित बनाएको छ । २ वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीया किशोरी निर्मला पन्तले ज्यान गुमाइन्, ठीक त्यही प्रकृतिको घटना बैतडीको दोगडाकेदार गाउँपालिकामा दोहोरिएको छ । 


१७ वर्षीया फक्रिँदै गरेको फूल निमोठिएको छ । एक्ली आमाको काखमा निदाउने, बुबाको मृत्युपछि देखेका सपना साकार पार्ने चाहना पूरा नहुने गरी अस्ताएकी छन्, १७ वर्षीया किशोरी भागरथी भट्ट । हत्या भएको ६ दिन बितिसक्दा पनि अझै कोही पत्ता नलाग्नुले स्थानीयमा थामिनसक्नुको आक्रोश बढ्दै गएको छ ।


बलत्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टले जीवनमा ठूलो मान्छे बन्ने सपना साच्न पाउने छैनन् । परिवारले देखेका हरेक इच्छा र आकांक्षा पूरा गर्न पाउने छैनन् । यौन पिपाशुको सिकार भएकी भागरथीको इहलिला समाप्त भएको छ । 

 

२ वर्षअघि निर्मलाको हत्या हुँदै स्तब्ध बनेको देश बैतडीको दोगडाकेदारमा भएको घटनाले पुनः त्रसित बनेको छ । के छोरीको जीवन रक्षा हुँदैन ! भनेर बेलाबखत प्रश्न सोध्नुपर्ने अवस्था सिर्जना भएको छ । छोरी/चेली कुनै पापीको सिकार बन्ने हुन् कि भनेर मन अमिलो पार्नुपर्ने समय पुनः दोहोरिएको स्थानीय सुनाउँछन् । 


भागरथीको मृत्युसँगै सिंगो गाउँ शोकमा छ । परिवार आँसुको आहलमा डुबेको छ । अर्धनग्न अवस्थामा भेटिएकी भागरथीले आफ्नो अन्तिम श्वाससम्म कति संघर्ष गरिन् होला । शब्दमा पनि वर्णन गर्न सकिँदैन । 

 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्ट सधैँझैँ गत बुधबार विद्यालय गइन् । सधैँजस्तै हाँस्दै घर फर्किने आशा उनकी आमा र परिवारले गरिरहेको थियो । तर, अब उनी कहिल्यै नफर्किने भएकी छन् ।

 

घर आएर आँगनबाटै आमा भन्दै बोलाएको परिवारले सुन्न नपाउने भएको छ । बुधबार रातीसम्म पनि घर नर्फिएपछि उनको परिवारले साँझ खोजतलास गर्दा नभेटिएपछि बिहीबार गाउँलेले बिहानैदेखि खोजी सुरु गरे ।

 

सबै छिमेकी मिलेर खोज्दै जाँदा बिहीबार साँझ भागरथीको शव जंगलमा क्षतविक्षत अवस्थामा भेटिएको हो । भागरथीले लगाएको लुगा च्यातिएको र अर्धनग्न अवस्थामा शव भेटिएको उनका काकाले बताए । 

 

डेढ महिनाअघि मात्रै श्रीमान् गुमाएकी भागरथीकी आमा आफ्नै सन्तानलाई पनि गुमाएको पीडामा छन् । श्रीमान् बितेपछि सन्तानको मुहार हेरेर श्रीमान्लाई सम्झिने आशमा रहेकी द्रोपती सम्हालिन सकेकी छैनन् । 


प्रहरीले शव पोष्टमार्टम गरेर बलात्कारपछि हत्या गरेको देखिएकाले थप पुष्टिका लागि भागीरथकोे ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ । उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । 


बलात्कारपछि हत्या भएको विरोधमा भागरथीको विद्यालय/परिवार आक्रोशित छ । उनका साथीभाइ, स्थानीय आन्दोलनमा उत्रिएका छन् । भागरथीको परिवारलाई न्याय दिलाउन माग गर्दै आएको दोगडाकेदार गाउँपालिकाका स्थानीय  देवराज भट्ट बताउँछन् ।


घटना बाहिरिएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले विज्ञप्ति जारी गरे निर्मलाको जस्तो अनुसन्धानमा कमजोरी नहोस् भनेर सरकारलाई झकझक्याइरहेका छन् । किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् । आइतबारदेखि ३ दिनका लागि शैक्षिक हडताल गरिएको छ । 

 

२८ माघमा दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र २९ माघमा आमहडताल गर्ने घोषणा भइसकेको छ । गाउँपालिकाले पनि हत्यारा पत्ता लगाउन अनुसन्धान टोलीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले दिएको स्थानीय मनोज महराले बताए ।

 

बैतडीमा बढ्दो आक्रोशले प्रहरी त दबाबमा आएको छ । धेरैलाई डर छ, कतै यो घटना पनि  निर्मला प्रकरणजस्तै हुने त होइन ? अनुसन्धानमा भएका कुनै पनि गतिविधिमा गलत टिप्पणी, अनर्गल प्रचार र अतिरञ्जित बनाउनेप्रति पनि प्रहरी चनाखो बनोस् ।