close

प्युठानमा सामाजिक विकृतिविरुद्धको अभियान

प्युठानमा सामाजिक विकृतिविरुद्धको अभियान

Trulli
ADVERTISEMENT

प्युठान- समाजमा दैनिक बढ्दै गएको आत्महत्या, बालविवाह, लैंगिक हिंसा, लागूऔषध दुर्व्सनलगायत घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको छ । सामाजिक मूल्य-मान्यताविरुद्धको अभियान गौमुखी गाउँपालिकाबाट सुरु भएको हो ।

 

प्युठानका सबै स्थानीय तहमा अभियान सुरु गर्ने उद्देश्यसहित गौमुखीबाट कार्यक्रम सुरु भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

 

‘कतिपय हाम्रै सामाजिक मूल्य-मान्यताले विकृतिका घटना बढ्दै गएका छन्’, उनले भने, ‘त्यसको न्यूनीकरणका लागि सबै पालिकामा अभियान सञ्चालन हुँदै छ ।’

 

गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले पालिकाले वडा तहमा समेत कार्यक्रम गर्ने योजना बनाएको बताए । गाउँ-गाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले पहल सुरु गरेकाले सामाजिक चेतना जगाउन यसले सहयोग पुग्ने उनको विश्वास छ ।

 

जिल्लाका सबै स्थानीय तहले अभियान सञ्चालनमा ऐक्यबद्धता जनाएको आयोजक संस्था युथ मिडिया डेभलपमेन्ट सेन्टर नेपालका अध्यक्ष विजयसिंह भारतीले बताए ।

 

स्थानीय तहको आर्थिक सहयोग, जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका गैरसरकारी निकायसँग सहकार्य गरेर अभियान अघि बढाइएको उनले जानकारी दिए । कार्यक्रम पालिका, वडास्तर र विद्यालयमा समेत गर्ने योजना छ ।