मुगु– मुगुका ग्रामीण क्षेत्रमा अहिले पनि जीवन धान्ने आधार नहुँदा नागरिकलाई हम्मे–हम्मे हुने गरेको छ । बिहान–बेलुका के खाने भन्ने चिन्ताले दिनप्रतिदिन पिरोल्ने गर्छ । तर, जसोतसो छाक टार्नैपर्ने अवस्था छ ।
जहान परिवार भएका कतिपय स्थानीयलाई एक छाक टार्न दिनभरिको परिश्रमबाट आएको कमाइले पनि पुग्दैन । कर्णालीको मुगु भन्नेबित्तिकै सपाट चित्र आउँछ– गरिबीको रेखामुनि पनि रहेको विकट जिल्ला । यहाँ रोजगारीका अवसर अत्यन्तै कम छन् । अझै पनि यहाँका स्थानीय साहू–महाजनसँग ऋण, तरकारी खेती र कृषि गरेरै जीविका चलाउने गर्छन् । सदरमुकाम गमगढी बजारमा भेटिएकी फुच्ची मजदुर नानीकला नेपाली भन्छिन्, ‘साहूले मुठी खोले हामी बाँच्छौँ । बन्द गरे हाम्रो मुख पनि बन्द हुन्छ ।’
नेपाली मात्र होइनन्, यहाँका कतिपय बालबालिकाको कथाव्यथा उस्तै छ । छायानाथ रारा नगरपालिकाको वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत सृष्टि कार्की आफ्नो पढाइ खर्च जुटाउन बिहान–बेलुकापख सदरमुकाम गमगढी बजार धाउँछिन् ।
घरमा आर्थिक अवस्था कमजोर भएका कारण पढाइ खर्च जुटाउने अवस्था नहुँदा आफंैले उत्पादन गरेको तरकारी सागसब्जी, धनिया बेचेरै पढाइ खर्च धानेको उनले सुनाइन् । उनले भनिन्, ‘मैले बिहान ६ देखि ९ बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म प्रत्येक दिन तरकारी बेच्ने गरेकी छु । यही तरकारी बेचेरै घर र पढाइ खर्च चलाउन पाइन्छ । नभए मुस्किल पर्छ ।’
साग बेचेपछि १ मुठाको ५ देखि १० रुपैयाँ र १ डोकाबाट करिब १ सय देखि ५ सय रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन् । ‘घरमा बुबाआमा बूढा हुनुहुन्छ । कमाउने मान्छे कोही छैनन् । जसोतसो गरेर सागसब्जी बेचेरै भए पनि पढाई खर्च टार्दै आएकी छु’, उनले भनिन् ।
शनिबार सरसफाइ, विद्यालयले दिएका गृहकार्य गर्ने र साथीहरूसँग खेल्ने कुरा त परै जाओस्, सृृष्टिजस्ता धेरै बालबालिकालाई कापी–कलम कसरी जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको सोही विद्यालयमा अध्यनरत एक विद्यार्थी बताउँछन्