बागलुङ- बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट ५० मिटरको दूरीमा मुस्लिम बस्ती छ । यो बस्तीभित्रै मदरसा छ ।
तर, बस्ती र मदरसा दुवै अव्यवस्थित छन् । एउटै छाप्रोमा मदरसा चलाउनुपर्दा स्थानीयले सास्ती खेपेका छन् ।
सडक र खोला छेउमा रहेको यो बस्ती बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गर्छ । पक्की शौचालय पनि छैन । सरसफाइ अभाव छ ।
गौंदीखोला छेउमा रहेको अव्यवस्थित मुस्लिम बस्ती वर्षौंदेखि यस्तै सकसबाट गुज्रेको स्थानीयले बताए । सिंगो बस्तीले फोहोर गौंदी खोलामा फाल्छ ।
‘हाम्रो घरघडेरी र जग्गा केही छैन । छाप्रोमा ओत लगाएका छौँ । फोहोर फाल्ने ठाउँ पनि छैन,’ स्थानीय कमालद्दीन मियाले भने, ‘मरेपछि फाल्ने घाट पनि नभएर ५० किमि पर कालीगण्डकी किनारमा पुग्छौँ ।’
२०४२ मा व्यवसायको क्रममा यहाँ आएका मुस्लिमहरू बागलुङमा अव्यवस्थित रूपमा बस्दै आएको उनले बताए । अहिले गलकोटको वडा नम्बर ३ मा झन्डै ३० घरपरिवार मुस्लिमको बसोबास छ ।
‘मदरसा बरकाति मदिना’ का लागि उनीहरूले एक शिक्षक राखेका छन् । भुइँमै बसेर ती बालबालिकाले पढ्ने गर्छन् । छाप्रोमा सबैको खानेबस्ने व्यवस्था र विद्यालय पनि सञ्चालन गर्नुपर्दा निकै सकस भएको मियाले बताए ।
उनीहरूको मदरसा व्यस्थापन र परिचयपत्रलगायतको काममा नगरपालिकाले सहयोग गरेको छ । लकडाउनको समय खान नपाएकालाई नगरपालिकाले खाद्यान्न सहयोग गरेको थियो ।
‘हामीले परिचयपत्र बनाएर चाडपर्व खर्च पनि बेलाबेला दिने गरेका छौँ,’ गलकोटको वडा नम्बर ३ का वडाध्यक्ष वीरजंग भण्डारीले भने, ‘सिमानाको हिसाबले अर्कै वडामा छन् तर नजिक भएकाले बेलाबेला सहयोग गरेका हौँ ।’
जग्गा व्यवस्थापनका लागि भने नगरपालिकाभित्र सार्वजनिक जमिन नभएकाले केही गर्न नसकेको उनले बताए । बजार छेवैको खोला र बगर नभएकाले शव गाड्ने अनुमति दिन नसकिएको उनको भनाइ छ ।
मृत्यु भए शव गाड्न उनीहरू गाडी रिर्जभ गरेरै बागलुङ बजार हुँदै कालीगण्डकी किनारमा आउने गर्छन् ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि पनि जग्गा खोजी रहेको छ । उक्त जग्गा व्यवस्थापन भए उनीहरूको मृत्यु संस्कारका लागि जग्गा दिन सकिने नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
‘मुस्लिम समुदायको घाटको समस्या भएको बुझेका छौँ तर नगरपालिकाको डम्पिङ साइट पनि बनेको छैन । जग्गाकै खोजीमा छौँ,’ उनले भने, ‘केही व्यवस्थापनको काम गर्ने योजना छ । हालै बनेको भूमि व्यवस्था आयोगबाट पनि व्यवस्थापन भयो भने सजिलो होला ।’
वर्षौंदेखि बसेकाले कसैको पनि अन्यत्र घरजग्गा नरहेको मियाले बताए । उनीहरूको पुख्र्यौली भने बागलुङकै बलेवास्थित अमलाचौर हो । यहाँका अधिकांशले छाता बनाउने, चुरा बेच्ने र कस्मेटिक सामानको खुद्रा व्यवसाय गर्छन् ।
खोला छेउमा बसेकाले सरसफाइ समस्या भएको स्थानीय रहमत हकिमले गुनासो गरे ।