close

मेस निर्माणमा जुटे माडीका ४ वटा मध्यवर्ती उपभोक्ता समिति

मेस निर्माणमा जुटे माडीका ४ वटा मध्यवर्ती उपभोक्ता समिति

Trulli
ADVERTISEMENT

चितवन/माडी- चितवनको माडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिले चालू आर्थिक वर्षमा पिसिसी वालसहितको मेसजाली निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

 

पश्चिम माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले २० लाख बजेटमध्ये १५ लाख रुपैयाँमा पिसिसी पर्खालसहितको मेसजालीमा खर्च गर्दै छ ।

 

यस वर्ष माडीको वडा नगर २ भैरवपुरस्थित आधारभूत विद्यालयदेखि पूर्वतर्फ, पौहारी गाउँको छेउसम्म ४ सय १० मिटर मेसजाली निर्माण हुने समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए ।

 

त्यस्तै, मध्य माडीको बघौडा मध्यवर्ती उपभोक्ता समितिले मेसजालीका लागि ९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये सिमरा गाउँमा करिब २ सय ४० मिटर पर्खालसहितको मेसजाली र धोबाहा गाउँमा करिब ३० मिटर मेसजाली लगाइने समितिका कार्यालय सचिव बलिराम महतोले जानकारी दिए ।

 

मध्य माडीकै रेवा मध्यवर्ती उपभोक्ता समिति कल्याणपुरले गोपालनगर क्षेत्रमा पर्खालसहितको मेसजाली निर्माणका लागि १३ लाख रुपैयाँ छुट्याएको समितिका अध्यक्ष शिवबहादुर कार्की बताउँछन् ।

 

पूर्व माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले ४ सय १० मिटर मेसजाली निर्माणका निम्ति १३ लाख रुपैयाँ छुट्याएको छ । सो बजेटबाट माडीको वडा नम्बर ९ कृष्णनगरदेखि राइटोलसम्म पिसिसी पर्खालसहितको मेसजाली लगाइने समितिका अध्यक्ष शिवजी गायकले बताए ।

 

चितवन राष्ट्रिय निकुञ्जले यो वर्ष अघिल्लो वर्षको तुलनामा आधा मात्रै बजेट पठाए पनि स्थानीय उपभोक्ता समिति जंगली जनावरबाट हुने जनधन र बालीनालीको क्षति रोक्न मेसजालीमा केन्द्रित भएका हुन् ।