close

भक्तपुरमा बिस्का जात्राको भैलखः बनाउने चटारो

भक्तपुरमा बिस्का जात्राको भैलखः बनाउने चटारो

Trulli
ADVERTISEMENT

भक्तपुर- छरपस्ट काठका टुक्रा । एकै उमेरका पाका पुरुष । कोही नाप लिँदै छन्, कोही नापबमोजिम काठलाई प्वाल पार्न व्यस्त । अनि, कोही नजिकै बसेर कामलाई नियालिरहेका छन् । 

 

यो दृश्य भक्तपुरको टौमढिस्थित ङातापोल्हँ अर्थात् पाँचतल्ले मन्दिर अगाडिको हो । यहाँ बिस्का जात्रा अर्थात् बिस्केट जात्राका लागि चाहिने भैलखः भैरवनाथको रथ बनाइँदै छ । 


यो काठैकाठको प्रयोग गरी बनाइएको हुन्छ । ३० फिट अग्लो ३ तले प्यागोडा शैलीमा रथ बनाइने गरिन्छ । करिब १० फिट अग्ला रथमा ४ वटा पांग्रा हुन्छन् । 

 

८ दिन ९ रात चल्ने बिस्का जात्राको महत्त्वपूर्ण अंगको रूपमा भैलखःको रथलाई लिने गरिन्छ । 

 

भैलखः बनाउने नाइके प्रेमलाल शिल्पकारका अनुसार १२ चैतसम्म भैरवको बाहिरी ढाँचा तयार हुनेछ । उनले भने, ‘यस वर्ष पांग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सामान सबै नयाँ छन् ।’ 

 

परम्परागत शैलीमा बनाइने भैलखःमा आधुनिक किलाको प्रयोग हुादैन । स्थानीय मोहन वासुकलाका अनुसार भैलखःमा दुवैतिर डोरी राखेर तान्ने प्रचलन छ । रथलाई आ-आफ्नो टोलतिर लैजान प्रतिस्पर्धा हुन्छ ।

 

रथमा दुवैतिर डोरी राख्नुको अर्थ गाडीमा बेक्र राख्नुजस्तै भएको स्थानीय बताउँछन् । भैरवनाथको रथलाई मोटो डोरीको सहायताले दुवैतिर प्रतिस्पर्धात्मक रूपमा सयौँ युवाले तान्ने गर्छन्, जसलाई हेर्न हजारौँ मानिसको भीड लाग्छ । 

 

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख आन्नद कर्माचार्यले जात्राका लागि रथ बनाउने काम सुरु भएको जानकारी दिए । यो वर्ष गत वर्षको काठको साथै नयाँ काठको पनि प्रयोग भएको उनले बताए । करिब ४० प्रतिशत नयाँ काठ प्रयोग भएको उनको भनाइ छ । 

 

यो जात्रा नयाँ वर्षको ४ दिन अगाडि र ४ दिन पछाडि गरेर ८ रात ९ दिन मनाउने प्रचलन छ । यो जात्रा सुरु भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ । 

 

यो वर्ष रथ भैलखः २८ चैतमा तानिने भएको छ । चैत ३० दिनको भए २७ चैतमा तानिन्छ भने ३१ को भए २८ चैतमा रथ तान्ने चलन छ ।

 

जात्राको पहिलो दिनलाई ‘द्यो क्वबिज्याइगु’ अर्थात् देउता तल सवारी हुने हो । भक्तपुर नगरको बीच भागमा रहेको टौमढी ङातापोल्हँ मन्दिर अगाडि राखेर बनाइएको रथलाई तल्लो भागतिर लैजाने भएकाले जात्राको पहिलो दिनलाई देवता तल सवारी हुने भनिएको हो । 

 

यस दिन रथमा तलपट्टिको साइटमा ६ वटा डोरी राखिएका हुन्छन् र माथिल्लोतिर ४ वटा मात्र डोरी राखेर स्थानीयले तान्ने परम्परा छ । पहिलो दिन रथलाई तलपट्टि लग्नुपर्ने भएकाले पहिलो दिन पूर्वी भागमा बढी डोरी राखिएको हुन्छ । रथलाई मिलाएर तान्नुपर्ने भएकाले दुवैतिर डोरी राखिएको हुन्छ ।