close

पार लाग्दै छ मुगाली तुइनको पिरलो 

पार लाग्दै छ मुगाली तुइनको पिरलो 

Trulli
ADVERTISEMENT

मुगु– हुम्ला लिंक रोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि स्थानीय सरकारले बेलीब्रिज बनाउने भएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर १, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौरमा नगरपालिकाले बेलीब्रिज राख्न लागेको हो । 

 

नगरप्र्रमुख हरिजंग शाहीले यो पुल र पुलसम्म पुग्ने सडकको शिलान्यास गरे । नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेसे्रा चरण (र्‍याप ३) को प्राविधिक सहयोगमा पुल निर्माण हुनेछ । 

 

बेलीब्रिज निर्माणका लागि रविचक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग सम्झौता गरिसकेको कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए । ‘विधिवत रूपमा पुलको शिल्यान्यास गरेका छौँ । अब काम द्रुत गतिमा अघि बढ्छ । नदीमा पानीको बहाव नबढ्दै दुवैतिरका सपोड वाल निर्माण गरिसक्छौँ,’ मल्लले भने ।

 

शिलान्यास कार्यक्रममा नगरप्रमुख शाहीले सदरमुकामको वडा नम्बर १३, १४ र हुम्लाको तल्लो भेगलाई जोड्न पुल राख्ने प्रस्ताव भए पनि साविकको जिविसले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाएर पनि निर्माण अलपत्र पारेका कारण प्रक्रियामा जान कानुनी समस्या परेको बताए । 

 

कानुनी प्रक्रिया पूरा गरेर पुल नबनुन्जेल अस्थायी भए पनि सहजताका लागि बेलिब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजन गरेको उनले जानकारी दिए । हाल निर्माण हुन लागेको बेलीब्रिज पुल नजिकैको माथिपट्टि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए । अहिले सो बेलीब्रिज उद्घाटनमै सीमित भएको छ ।

 

उद्घाटनकै क्रममा मुख्यमन्त्री शाहीले भनेका थिए, ‘यो पुललाई प्रदेश सरकारले छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी मुगु–हुम्ला लिंक रोड जोड्नेछौँ ।’ तर, पुल निर्माण अगाडि नबढेपछि स्थानीय सरकारले नागरिकको समस्यालाई दृष्टिगत गरी बेलीब्रिज बनाउन लागेको हो । विगतका वर्षमा वारपार गर्दा कर्णाली नदीमा तुइनको सहारा लिनुपथ्र्यो । अब त्यस्तो अवस्था हट्नेछ ।


ग्रामीण पहुँच कार्यक्रम (र्‍याप ३) ले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जनसहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको छ ।

 

‘नगरपालिकाको सक्रियतामा पुल निर्माण हुनेछ । दुवैतिर पुलसम्म पुग्ने सडक साता दिनभित्रै निर्माण गर्नेछौँ । पुलदेखि सडक निर्माणमा हाम्रै प्राविधिक सहयोग रहनेछ’, ग्रामीण पहुँच कार्यक्रमका टिम लिडर विष्णुराम विष्टले भने ।

 

गमगढी–दर्के खोलासम्मको २६ किमि सडक प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको र आगामी ३ महिनाभित्र चंखेलीसम्मको सडक पनि हस्तान्तरणको चरणमा रहेको छ । ट्रयाक खुलेको वर्ष दिनभन्दा बढी समय बितिसक्दा पनि नदीमा पुल नहुँदा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु थार्प र हुम्लाको तल्लो भेगका स्थानीय सडक प्रयोग गर्न पाएका छैनन् ।

 

‘सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा होस वा गर्भवतीलाई ३ घन्टा बोकेरै जिल्ला अस्पताल मुगुमा पु¥याउनुपर्ने बाध्यता छ । पुल नहुँदा समयमै उपचार नपाएर कतिले बाटोमै ज्यान गुमाउनुपरेको छ । पुल बनेपछि समयमै उपचार गर्न पाउनेछौँ भने घरबारीमा खेर गएका स्याउ, ओखर, अन्नबाली सदरमुकाम गमगढी, जुम्ला, सुर्खेत र नेपालगञ्जसम्म लगेर बिक्री गर्न सक्नेछौँ,’ रुगागाँउका स्थानीय बालकृष्ण लावडले भने । 


वडा नम्बर १३ का वडाध्यक्ष चक्रबहादुर रावतले तत्कालीन जिविसले पक्की पुल बनाउन ठेक्का खोलेर सम्झौता गरेको ठेकेदारलाई काम सम्पन्न गर्न सयौँ पटक अनुरोध गरे पनि कर्णालीपारिका जनताको माग कसैले सुनुवाइ नगरेको बताए । 

 

‘मुख्यमन्त्री शाहीले पुल निर्माणका लागि निर्माण कम्पनीलाई दबाब दिँदा पनि ठेकेदारले टेरेनन् । संघीय सरकार मातहतको यो पुल निर्माणका लागि कतैबाट पहल नभएपछि नगरपालिकाको पहलमा बन्न थालेको हो,’ राउतले भने ।


मुगु कर्णालीमाथि बेलीब्रिज बने नगरपालिकाका वडाबस्तीका साथै हुम्लाको चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकासम्मका नागरिक सडकको सहज पहुँचमा पुग्नेछन् ।

 

५ करोड २० लाख ५५ हजार ९ सय २ रुपैयाँ लागतमा बन्ने बेलीब्रिजको लम्बाइ ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले बताए । नगरपालिका सडकमा पर्ने अन्य खोलामा ग्रामीण पहुँच कार्यक्रमले पुल बनाइदिनेछ ।