सुर्खेत- गत २४ फागुनमा दैलेखको आठबिस नगरपालिका वडा नम्बर ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाले घरेलु हिंसा सहन नसकेर ४ सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्याको बाटो रोजिन् ।
सल्यानको कपुरकोट गाउँपालिकाकी २१ वर्षीया कल्पना केसीले सानैमा बालविवाह गरिन् र श्रीमानको टचर सहन नसकी आत्महत्या गरिन्।
दैलेखकी रञ्जना दसौदीको पनि सानैमा बिहे गर्नु दोष भयो । श्रीमान् विदेश गएका थिए । घरमा सासू-ससुरा र घरपरिवारको हिंसा र दुव्र्यवहार सहन नसकेर प्राण त्यागिन् । यी प्रतिनिधि घटना मात्रै हुन् ।
घरेलु हिंसाकै कारण कर्णालीका सयौँ महिला आत्महत्याको बाटो रोज्न बाध्य छन् । घरपरिवारको दुव्र्यवहार सहन नसकेर, जाँडरक्सी खाएका श्रीमान्को कुटपिट सहन नसकेर कर्णालीमा आत्महत्या रोज्नेको संख्या बढेको बढ्यै छ ।
आर्थिक वर्ष २०७७/७८ माघ मसान्तसम्म कर्णालीमा २३२ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ । आत्महत्या गर्नेमा रुकुममा २२ जना, सल्यानमा ४९, जुम्लामा १३, हुम्ला २, मुगुमा ३, कालीकोटमा र अन्य जिल्लाका गरी २७० जना रहेका छन् ।
जिल्लागत तथ्यांकअनुसार ९६ जना महिला र १४५ जना पुरुष छन्, जसमा १४ बालक र १५ बालिका रहेका छन् । चालू आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा बढी आत्महत्या गर्नेमा सल्यानमा ६४ जना र सबैभन्दा कम हुम्लामा २ जना रहेको कर्णाली प्रदेश प्रहरी सुर्खेतका प्रवक्ता एसएसपी अर्जुन चन्दले बताए ।
आत्महत्याको प्रमुख कारण घरपरिवारको कलह, बालविवाह, बेरोजगार र गोपनीयता भंग रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापा सुनाउँछन् । उनले भने, ‘सानैमा बालविवाह गर्ने, पछि गएर बहुविवाह गर्ने र त्यहीबाट घरेलु हिंसा, यातना, मानसिक तनावका कारण आत्महत्याको बाटो रोज्ने गरेको देखियो ।’
प्रदेशभर ३ आर्थिक वर्षमा ७६८ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार २०७५/७६ मा २८८ जनाले आत्महत्या गरेका छन् । यीमध्ये १२० जना महिला, १३० जना पुरुष, १५ जना बालक र २३ जना बालिका छन् ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३२८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १ सय जना महिला, १८० पुरुष, २१ बालक र १७ जना बालिकाले विभिन्न माध्यमबाट आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी चन्दले बताए ।
अहिलेको प्रविधिले पनि आत्महत्याका घटना बढाउन सहयोग देखिएको सामाजिक सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता हिरासिंह थापाको बुझाइ छ ।
‘जुन कुरा हेर्न, गर्न हुँदैन । ती कुराले मान्छेका मन चञ्चल बनाउने, मनलाई एक ठाउँमा बस्न नदिने वातावरण सिर्जना हुँदा विकल्प आत्महत्या हुने गरेको छ,’ उनले भने, ‘आत्महत्या कम गर्न घरेलु हिंसालाई नियन्त्रणमा ल्याउने एवं मनोबल वृद्धि हुने खाले जीवनोपयोगी सीप र शिक्षाका कुरामा जोड दिनुपर्छ ।’
घरायसी समस्यालाई समाधान गर्न नसकेर बालविवाह र त्यसैमा श्रीमती/श्रीमान्को विभिन्न सम्बन्धका कारण पनि आत्महत्या दर बढेको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् ।
अहिले प्रत्येक मानिसलाई मनोसामाजिक समस्याले सताएकाले पनि आत्महत्याको संख्यामा वृद्धि भएको बाल अधिकारकर्मी सज्जना सुनारको भनाइ छ । ‘मनोसामाजिक परामर्शको कहीँ-कतैबाट समाधान, सान्त्वना, साथ पाए आत्महत्या गर्दैनन् । मानसिक तनावले ठूलो रूप लिनु र कतैबाट पनि साथ नपाउँदा आत्महत्याको बाटो रोज्नेको संख्या बढ्दो छ’, सुनारले भनिन् ।