close

चिनी उद्योगको करामतः आधा दर्जन गाउँ दुर्गन्धित 

चिनी उद्योगको करामतः आधा दर्जन गाउँ दुर्गन्धित 

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग र अमरावती डिस्टिलरीबाट गाउँ नै आक्रान्त हुने गरी दुर्गन्ध निस्किएपछि स्थानीय आन्दोलित बनेका छन् । उद्योगबाट निस्किएको धुवाँधुलो र दुर्गन्धको दीर्घकालीन समाधान माग गर्दै आइतबार स्थानीयले विरोध प्रदर्शनसमेत गरेका हुन् ।


हरिवन नगरपालिकाको वडा नम्बर ८ वडा कार्यालयबाट सुरु भएको स्थानीयको विरोध प्रदर्शन नगरपालिका कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा नारायणचोक, चापिनी, बासाटोल, पाख्रिन टोल, हनुमानचोक, चिनिमिल एरियालगायतका स्थानीय सहभागी थिए ।

 

विरोध प्रदर्शनमा सहभागीले उद्योग प्रशासनसमक्ष समस्याको विषयमा मौखिक ध्यानाकर्षण गराए । नगरपालिकाको वडा नम्बर ८ का स्थानीयले दुर्गन्ध नियन्त्रणको माग गर्दै विरोध गरेका हुन् ।

 

उद्योगको लापरवाहीका कारण फैलिएको दुर्गन्धले गाउँमा बस्नै नसकिने अवस्था आएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण सास फेर्नसमेत नसक्ने अवस्था आएपछि आन्दोलित हुनुपरेको इन्दुशंकर चिनी उद्योग दुर्गन्ध नियन्त्रण आन्दोलन परिचालन कमिटी संयोजक अन्जना कडरियाले बताइन् ।

 

उद्योगले स्थानीयको स्वास्थ्यमाथि खेलवाड गरेर दुर्गन्ध फैलाएको उनीहरूको आरोप छ । उद्योगबाट निस्किएको दुर्गन्ध र धुवाँधुलोका कारण जनजीवन कष्टकर बनेकाले आन्दोलित हुनुपरेको स्थानीय सुनाउँछन् ।

 

उद्योग र उसकै मातहतमा सञ्चालित अमरावति डिस्टिलरीबाट निस्किएको धुलोधुवाँ र दुर्गन्धले बालबालिका, वृद्धवृद्धाको स्वास्थ्य प्रतिकूल बन्दै गएको स्थानीय रीता सापकोटाले बताइन् । ‘बिहान र बेलुका घरमा बस्नै नसकिने गरी दुर्गन्ध आउँछ,’ उन्ले भनिन्, ‘हाम्रो जीवन नर्कजस्तै बनेको छ ।’

 

बिहान-बेलुका दुर्गन्धित हावा गाउँमा फैलिएपछि सास फेर्नसमेत समस्या हुने गरेको स्थानीय ७५ वर्षीया नानीमैया दाहालले बताइन् । ‘यो दुर्गधले जिउँदै नर्कमा बसेजस्तै लागेको छ । उनले भनिन्, ‘कोही पाहुना आए पनि दुर्गन्धका कारण १० मिनेट पनि नबसी फर्कन्छन् ।’

 

दुर्गन्धका कारण उद्योग आसपासका आधा दर्जन गाउँको परिचय दुर्गन्धपुर बनेको स्थानीयको दुखेसो छ । दुर्गन्ध फैलिएपछि बालबालिकाले खाना खानसमत नमान्ने गरेको उनीहरू बताउँछन् ।

 

उक्त गाउँ पुग्दा ढलको पाइप फुटेजस्तो दुर्गन्ध फैलिरहेको थियो । स्थानीयले उद्योगबाट धुवाँधुलो र दुर्गन्ध फैलिएर गाउँको जनजीवन नै प्रभावित बनेको भन्दै यसअघि पनि पटक-पटक उद्योग प्रशासनलाई ध्याकर्षण गराएका थिए । तर, उद्योग प्रशासनले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

 

स्थानीयका अनुसार इन्दुशंकर चिनी उद्योग २०४० मा सानो खाडसारीको रूपमा स्थापना भएको थियो । 

 

त्यसयता बर्सेनि क्षमता विस्तारमा लागेको उद्योगले आसपासका गाउँको वातावरण र स्थानीयको अवस्थाबारे जिम्मेवार नभएपछि विरोध गर्नुपरेको आन्दोलनमा सहभागी गीता दाहाल बताउँछिन् । उद्योगको धुलोधुँवा र दुर्गन्धले आक्रान्त भएपछि गत वर्ष पनि स्थानीय आन्दोलित भएका थिए ।

 

जनप्रतिनिधि नै अनशन बसेपछि उद्योग प्रशासन, स्थानीय प्रशासन, स्थानीयलगायतको उपस्थितिमा सहमति भएको थियो । वर्ष दिन बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको उनीहरूको आरोप छ । 

 

उक्त सहमतिमा क्रसिङ सिजन पहिलै समस्या समाधान गरिने उल्लेख छ । छलफलमा उद्योगले आधुनिक प्रविधि प्रयोग गरेर धुवाँधुलो नियन्त्रण गर्ने, डिस्टिलरीबाट निस्कने फोहोर पानीको दुर्गन्ध नियन्त्रणका लागि उच्चस्तरीय फिल्टर प्लान्ट जडान गर्ने, उद्योगबाट निष्कने दुर्गन्धित फोहोरमैला व्यवस्थापन गर्नेलगायत समझदारी भएको थियो ।

 

सबै कामको अनुगमनका लागि हरिवन नगरका नगरप्रमुख गणेशप्रसाद प्रसाईंको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने सहमति भएको थियो । अनुगमन समितिसमेत स्थानीयले पाएको सास्तीको विषयमा गैरजिम्मेवार बनेको आन्दोलित बताउँछन् ।

 

समितिले यस पहिला उद्योगको अनुगमनसमेत गरेको समितिका सदस्य सुरेश भट्टराईले बताए । अनुगमनका क्रममा उद्योगले धुलोधुवाँ नियन्त्रणका लागि प्लान्ट जडान गरेको देखाए पनि दुर्गन्ध नियन्त्रणको पहल नगरेको भेटिएको थियो ।


नगरका जनप्रतिनिधिकै सहभागितामा निर्माण भएको समितिले समेत जनताको पक्षमा काम गर्न नसक्नु शंकाको विषय भएको स्थानीयको आशंका छ ।

 

पछिल्लो समय नगरका जनप्रतिनिधिले समेत गैरजिम्मेवार अभिव्यक्ति दिन थालेपछि आन्दोलनमा उत्रिनुको विकल्प नभएको स्थानीय अर्जुन दाहालले बताए । ‘जनप्रतिनिधिसमेत आजभोलि समस्या समाधान भएन भन्दा ठीकै छ, गन्ध कम हुँदै गएको छ भन्छन् । समस्या ज्यूँका त्यूँ, छ,’ दाहालले भने । 


नगरपालिकाको गेटमै भएको कोणसभामा आन्दोलिन स्थानीयलाई नगर उपप्रमुख रेणुका पौडेलले सम्बोधन गरेकी थिइन् । ७ मिनेटको सम्बोधनमा उद्योगको पक्षपोषण गरेको भन्दै स्थानीय आक्रोशित बनेका थिए । स्थानीयको विरोधपछि मात्र उद्योगबाट भएको अन्यायपूर्ण व्यवहारविरुद्ध आफ्नो समर्थन रहेको बताइन् ।

 

उद्योग कम्पाउन्डमै घर जोडिएका इन्द्रबहादुर वाइबाले उद्योगको दुर्गन्धका कारण आक्रान्त बनेको बताए । सुरुमा चिनी उद्योग सञ्चालन हुँदा यस्ता समस्या नभए पनि अहिले विकराल बनेको उनको भनाइ छ । दुर्गन्धकै कारण गाउँमा संक्रमणको महामारी फैलने चिन्ताले सताउने गरेको स्थानीय सुनाउँछन् । 

 

प्रदूषण, दुर्गन्ध नियन्त्रण लिएका छौँ : उद्योग प्रशासन

 

स्थानीयको समस्यालाई ध्यानमा राखेर समस्या समाधानको पहल भइरहेको उद्योग प्रशासनले दाबी गरेको छ । 

 

उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले नयाँ प्रविधि र लगानीमा सबै प्रकारका प्रदूषण नियन्त्रण गरिरहेको बताए । उनका अनुसार उद्योगले स्थानीय र विभिन्न निकायसँग गरेको सहमतिअनुसार धुलोधुवाँ नियन्त्रणका लागि फिल्टर प्लान्ट निर्माण गरिसकेको छ । 

 

ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रविधि प्रयोग गर्ने काम भइरहेको र दुषित पानीबाट निष्कने दुर्गन्ध नियन्त्रणका लागि पानी फिल्टर प्लान्ट जडान गरेको नेपालले जानकारी दिए । 

 

गाउँमा फैलिएको दुर्गन्धले जनजीवन प्रभावित भएको स्वीकार्दै उनले विभिन्न सुगन्ध दिने फलफूल र विभिन्न जातका रुख लगाउने काम भइसकेको र त्यसले दिने सुगन्धले दुर्गन्ध हराउने उनको दाबी छ । 

 

उद्योगबाट निस्किएको प्रेसमल र डिस्टिलरीबाट निस्किएको स्प्रिट मिसाएर प्रांगारिक मल उत्पादनको क्रममा दुर्गन्ध निस्किएको र नियन्त्रणका सबै उपाय अवलम्बन गरिरहेको उनले बताए ।

 

किसानका लागि मल बनाए वितरण गर्ने उद्योगको उद्देश्य रहेकाले यसमा स्थानीयले साथ दिनुपर्ने उनको सुझाव छ ।