सुर्खेत– दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ की धना विक अहिले २२ वर्ष पुगिन्् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन् ।
बालविवाहका कारण २ वटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान् रोजगारीको सिलसिलामा भारत पुगे । रोजगारप्ी खाज्दै भारत पुगेका दम्पती सुख–दुःख गरी साँझ–बिहानको छाक टारिरहेका थिए ।
तर, एक्कासि दुर्घटनामा परी श्रीमान्को मृत्यु भयो । त्यसपछि दुःखमाथि दुःख थपिए, धनाका । ‘सानैमा बालविवाह गरेँ । उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन’, धनाले भनिन्, ‘श्रीमान्को मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ । अर्कैको घरमा बास छ । अहिले बासगास नहुँदा २ छोरा कसरी पाल्ने भन्ने पिरलो छ ।’
सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो । कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरको धना वेदना सुनाउँछिन् ।
‘बिहे गर्ने मन थिएन’, उनले भनिन्, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुपर्यो । अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइनँ ।’
धनाजस्तै सोही ठाउँकी परु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन् । ‘उबेला ६ कक्षा पढ्दै थिएँ । पढ्दापढ्दै मन चञ्चल भएर के–के नहोला भनेर भागी बिहे गरेँ, ‘उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ । पोइली घर कस्तो होला भनेर भागिआएँ । अहिले समस्यै समस्या छन् ।’
धनाजस्तै १७ वर्षीया उर्मिला बुढाले पनि १५ वर्षमा भागी विवाह गरिन् । उर्मिलाको घरको अवस्था दयनीय थियो । खान, लगाउनकै समस्या भएपछि भागी विवाह गरेको उनले सुनाइन् ।
‘बुबाआमालाई जिम्मेवारी बढी भयो । विवाह गरे सहज होला भन्ठानेर गरेँ । सानैमा आमा बनियो,’ उर्मिला भन्छिन्, ‘त्यतिखेर दुःख गरेर पढेको भए हुन्थ्यो, गल्ती गरियो ।’
धनाजस्तै जाजरकोटकी १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनीषा सुनार पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पछुतोमा छिन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म प्रदेशमा ३१ वटा बालविवाहका मुद्दा दर्ता भएको उल्लेख छ ।
बालबालिका किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना तीव्र वृद्धि हुने, उपयुक्त ढंगले यौनशिक्षाबारेका सकारात्मक अनि र नकारात्मक पक्षमा जानकारी नदिइँदा लहलहमै बालविवाह गर्ने गरेको बाल अधिकारकर्मी सज्जना सुनार बताउँछिन् ।
‘अर्को ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन्’, उनले भनिन्, ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन् । अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहे गर्छन् ।’
बालविवाह रोेकथामका लागि स्थानीय सरकारले जीवनोपयोगी सीप सिकाउनुपर्ने र यौनसम्बन्धी शिक्षा दिनुपर्ने सुनारको सुझाव छ । आर्थिक वर्ष २०७७÷७८ को सुरुदेखि हालसम्म कर्णाली प्रदेशभर १७ वटा बालबिवाहसम्बन्धी मद्दा दर्ता भएका छन् ।
बालविवाहमा संलग्न रहेका १३ पुरुष र १० जना महिला, ८ जना बालक र ९ जना बालिका गरी ४० जना पक्राउ परेका छन् भने १ जना बालिका फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णालीमा बहुविवाह पनि उस्तै
कर्णाली प्रदेशमा बहुविवाह भयावह बन्दै गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रत्येक वर्ष बहुविवाहका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७७/७८ को माघसम्म ६४ वटा बहुविवाहका मुद्दा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएको तथ्यांक छ ।
बहुविवाहका घटनामा संलग्न ४६ पुरुष र ४४ महिला गरी ९० जनालाई पक्राउ गरिएको छ भने १८ पुरुष र २० महिला फरार रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले भने, ‘पहिले गाउँघरमा धेरैजसो बहुविवाहका घटना बाहिर आउँदैनथे । मुलुकी अपराध संहिता ऐन, २०७४ पछि उजुरी गर्नेको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।’