close

डडेल्धुराका ग्रामीण यातायात: कोचाकोच यात्रु, दोब्बर भाडा

डडेल्धुराका ग्रामीण यातायात: कोचाकोच यात्रु, दोब्बर भाडा

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराका स्थानीय तहमा गुड्ने सवारी साधनले कोचाकोच यात्रु बोक्ने गुनासो बढेको छ । यहाँका ग्रामीण भेगमा यातायात व्यवसायीले कोचाकोच यात्रु बोक्ने गरेका हुन् ।

 

जिल्ला सदरमुकामबाट डडेल्धुराका अन्य ६ वटा स्थानीय तहमा जाने यात्रु र अमरगढी नगरपालिकाकै ग्रामीण भेगमा जाने सवारी साधनमा कोचाकोच यात्रु बोकिने गरेको हो ।

 

जिल्ला सदरमुकामबाट ग्रामीण भेगमा चल्ने सवारी साधनले सिट संख्याभन्दा तेब्बर र छतमाथिसम्म कोचाकोच यात्रु चढाउनुका साथै भाडा दोब्बर बढी लिने गरेको स्थानीयको गुनासो छ ।

 

ट्राफिक प्रहरीले कोचाकोच यात्रु बोक्ने गाडी रोक्ने, जरिमाना तिराएर छाड्ने तर यात्रुलाई नओराल्ने गरेको अजमयमेरु गाउँपालिकाका स्थानीय रोशन विष्टले बताए । 

 

ट्राफिक प्रहरीको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढ्न थालेको उनको भनाइ छ । यातायात व्यवसायीले गाडीमा यात्रु कोचेर हाल्दा पनि सम्बन्धित निकाय रमिते बनेका स्थानीय बताउँछन् । 

 

कतिपय सवारी साधनले ट्राफिक पोस्ट आउँदा यात्रु ओराल्ने र पोस्टबाट अलि अगाडि बढेपछि पुनः यात्रु चढाउने गरेको स्थानीय भीमबहादुर पाण्डेयले बताए । 

 

‘अजयमेरु र भागेश्वर जाने सवारी साधनले बसपार्कमा ट्राफिकले चेकजाँच गर्ने भन्दै प्रशासन जाने रोडबाट कोचाकोच यात्रु बोकेर गन्तव्यमा जाने गरेका छन्,’ उनले भने ।

 

बढ्यो सवारी दुर्घटना

 

सुदूरपश्चिम प्रदेशको ‘हिल स्टेसन’ का रूपमा चिनिने डडेल्धुरामा सडक दुर्घटनामा वृद्धि भएको छ । सुदूरका ७ पहाडी जिल्ला र तराईका २ जिल्लाको केन्द्रमा रहेको डडेल्धुरामा सवारी साधन दुर्घटना बढेको हो हो । 

 

डडेल्धुरामा चालू आर्थिक वर्षको ८ महिनामै २२ वटा सवारी साधन दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा १६ वटा सवारी साधन दुर्घटना परेका थिए, जसमा ३५ जनाको मृत्यु भएको छ भने ३३ जना गम्भीर घाइते र ९६ जना समान्य घाइते भएका छन् ।

 

आर्थिक वर्ष २०७६/७७ मा २३ वटा यातायातका सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते र २२ जना समान्य घाइते भएका छन् ।

 


चालू आर्थिक वर्षको ८ महिनामा ५ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रहरी जवान कसवीर साउदले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा १६ जना गम्भीर घाइते भएका छन् भने ५५ जना सामान्य घाइते भएका छन् ।