close

९ वर्षीया बालिका लक्ष्मीको बलात्कार प्रयासपछि हत्या   

९ वर्षीया बालिका लक्ष्मीको बलात्कार प्रयासपछि हत्या   

Trulli
ADVERTISEMENT

मुगु– मुगेको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिमा वडा नम्बर ९ की बालिका लक्ष्मी चौलागाईंलाई बलात्कार प्रयासपछि हत्या गरिएको पाइएको छ । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मुगुले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएको हो ।

 

शनिबारदेखि हराएकी बालिका चौलागाईं ३ दिनपछि मुगु कर्णालीमा मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । सोरुको वडा नम्बर ८ तारापानीका २० वर्षीय प्रवेश रावलले बलात्कारपछि हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । 

 

९ वर्षीया लक्ष्मी सोही गाँउपालिका वडा नम्बर ८ तारापानीबाट हराएको खबर परिवारले दिएको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक नरेश विकको कमान्डमा खटिएको टोली र त्यहाँका प्रत्यक्षदर्शी स्थानीयको खोजतलासपछि बालिकाको शव कर्णाली नदीमा फेला परेको प्रहरी निरीक्षक विकले बताए । 

 

चौलागाईं गत २१ चैत साँझ ५ बजे वडा नम्बर ८ तारापानीस्थित घरबाट हराएकी थिइन् । बालिकाको खोजतलास गर्ने क्रममा २३ चैत बेलुकी ७ बजे सोही वडाको तारापानीस्थित कर्णाली नदीको किनारमा मृतावस्थामा फेला परेपछि घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरेको थियो ।

 

अनुसन्धानका क्रममा गाउँपालिकाको वडा नम्बर १० तारापानीका रावललाई पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको छ । 

 

रावलले करणी गर्ने मनसायले बालिकालाई समात्न खोज्दा प्रतिकार गरी चिच्याएपछि धकेल्दा टाउको भुइँमा ठोक्किएको र बेहोस भएपछि कर्णाली नदीमा फालिदिएको स्वीकारेका छन् । 

 

प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार मृतक बालिकालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ भने रिपोर्ट आउन बाँकी छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको थप कारण जानकारी आउनेछ । उनले भने, ‘मृतक बालिका चौलागाँईको रिपोर्ट प्रहरी अस्पतालको ल्याबमा पठाइएको छ । भेजिनल शव परीक्षण गरी रिपोर्टबारे थप तथ्य प्राप्त हुनेछ ।’ 

 

परिवारले माग्यो क्षतिपूर्ति 

 

मृतक बालिकाका आफन्त न्यायका लागि प्रशासनको ढोकामा पुगेर विभिन्न माग राखेका छन् । एक आफन्तले भने, ‘मृतक बालिकाको घरपरिवारको अवस्था नाजुक छ । कुनै पनि आयस्रोत नभएकाले राज्यबाट क्षतिपूर्तिको माग राखेका छौँ । अभियुक्तलाई कडा कारबाही गरिनुपर्छ ।’

 

शव भएको ठाउँमा भेटियो चाउचाउ पोका 

 

मृतक बालिका चौलागाईंको शव भेटिएको स्थानभन्दा केही मिटर पर खाएर राखेको आधा बाँकी भएको रिनटिन नामक चाउचाउको प्याकेट र सिंगो अर्को प्याकेट पनि फेला परेको प्रहरीले बताएको छ । सँगै अलि पर पीडित मृतक बालिकाको नीलो रंगको एक जोडी चप्पल पनि भेटिएको छ । 

 

शव फेला परेको स्थानभन्दा केही मिटरयता भेटिएका चाउचाउका प्याकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सीप बजारमा २ जना मात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घर नजिकका छिमेकीले चाउचाउ किनेको खुल्न आएको छ ।


 
प्रहरीले नियन्त्रणमा लिएका युवाले शनिबार रक्सी खाएको, लक्ष्मीलाई बहिनी सम्झेर चाउचाउ दिँदा जँडिया भनेर जिस्काएपछि लखेटेको र लडेर नदीमा परेको बयान दिएका छन् । तर, आफूले कुनै अनैतिक प्रयास नगरेको प्रहरीसमक्ष उनले बताएका छन् । 

 

प्रहरीको सफलता 


अभियुक्त रावललाई घटना घटेको २४ घन्टाभित्रै प्रहरीले पक्रिन सफल भएको छ । । प्रहरी निरीक्षक नरेश विकको नेतृत्वमा खटिएको टोलीले घटनाको २४ घन्टा नबित्दै रावललाई पक्रिएको हो ।

 

यसमा स्थानीयको पनि ठुलो सहयोग रहेको उनले बताए । मृतक बालिका चौलागाँई गिलाहा बालज्योति प्रावि गिलाहमा कक्षा २ मा अध्ययनरत थिइन् । मृतक बालिकाको शव आफन्तले दाह संस्कार गरेका छन् ।