close

प्युठानमा जिप दुर्घटना: मृतकको संख्या ५ पुग्यो

प्युठानमा जिप दुर्घटना: मृतकको संख्या ५ पुग्यो

Trulli
ADVERTISEMENT

प्युठान- जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सवार जीप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । 

 

स्वर्गद्वारी मन्दिर दर्शनका लागि आएका स्याङ्जा स्थायी घर भएका जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायब सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी रहेका छन् ।

 

गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ र अन्य ३ जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक (सई) बुद्धिप्रसाद रानाले जानकारी दिए ।

 

गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु१च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रुमालेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

 

जिपले बसलाई ओभरटेक गर्न खोज्दा सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । 

 

गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएका जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दीप परियार छन् । 

 

त्यस्तै, घाइते हुनेमा २३ वर्षीया सुुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, उनकी ४ वर्षीया छोरी निकिता पौडेल, ३० वर्षीया गीता मुखिया, उनका १२ वर्षीय छोरा अनिस मुखिया, २४ वर्षीय तारा भण्डारी बोहरा, उनका ६ वर्षीय छोरा आशीष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली र २५ वर्षीया मुना पाण्डे छन् ।


यसैबीच दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।