close

कोरोना संक्रमणको जोखिमबाट बच्न नगरबासीलाई वालिङको आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न नगरबासीलाई वालिङको आग्रह

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड-१९ को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नगरबासीलाई आग्रह गरेको छ ।

 

नगरप्रमुख दिलीपप्रताप खाँणले सूचना जारी गर्दै कोभिड-१९ संक्रमणको जोखिम वालिङमा पनि बढेको हुँदा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन नगरबासीमा अपिल गरेका हुन् ।

 

भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई १० दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न र कोभिड-१९ को लक्षण देखिए एन्टिजिन वा पिसिआर जाँच गर्न उनले सुझाएका छन् ।

 

चेकजाँचमा संक्रमण देखिएकालाई नगरपालिकाको कोभिड-१९ अस्पताल वा संस्थागत आइसोलेसनमा उपचारको व्यवस्था गरिने नगरप्रमुख खाँणले बताए ।

 

ज्येष्ठ नागरिक, दीर्घ रोगीले अझै बढी सावधानी अपनाउन जोड दिँदै नगरप्रमुख खाँडले नगरबासीलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन  आग्रह गरेका छन् ।

 

कोभिड-१९ को जोखिमलाई दृष्टिगत गरेर पार्टी प्यालेस, क्लब, जिमखाना, फुटसल, सभा, समारोह, जुलुस तथा मानिसको भीडभाड हुने खेलकुदलगायत सबै कार्यक्रम बन्द गरिएको उनले जानकारी दिए ।


संक्रमणको उच्च जोखिममा रहेका बालबालिकालाई बचाउन विद्यालयमा जनस्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुका साथै भीडभाड कम गर्न विद्यालयमा आलोपालो प्रणाली व्यवस्था मिलाउनले आग्रह गरे ।

 

कार्यालय, पसल, सार्वजनिक सवारी साधन, बैंक तथा वित्तीय संस्थामा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने र मास्कबिनाका व्यक्तिको प्रवेशमा रोक लगाउने कार्यमा सहयोग गर्न स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले सुझाव दिए ।

 

कोही व्यक्ति भारत तथा तेस्रो मुलुकबाट आए नगरपालिका कार्यालय, सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क र समन्वय गरी अनिवार्य नगरले तयार पारेको होम क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।

 

जनस्वास्थ्यसम्बन्धी नियम पालना नगरे संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने हुँदा आ-आफ्नो ठाउँबाट उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।