close

काठमाडौं उपत्यकामा निषेधाज्ञा: कडाइ नगर्दा सडक जाम

निषेधाज्ञामा गाडीकाे लर्काे

काठमाडौं उपत्यकामा निषेधाज्ञा: कडाइ नगर्दा सडक जाम

निषेधाज्ञामा गाडीकाे लर्काे

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी भएको छ । संक्रमण रोक्न लकडाउन र निषेधाज्ञा नै उत्तम उपाय रहेको बताइए पनि बिहीबार सडकमा निषेधाज्ञाको खासै अर्थ देखिएन ।

 

ठूला सडक सुनसान थिए भने भित्री सडकमा चहलपहल रोकिएन । निषेधाज्ञा फितलो हुँदा जाम हुन पुग्यो । सयौँ गाडी कारबाहीमा परे पनि ट्राफिक प्रहरी नै अन्जान देखिएका थिए । निषेधाज्ञा फितलो देखिएसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि कडाइ गर्ने जनाएको छ ।

 

काठमाडौंमा बिहीबार कार्यालय समयमा लागेको गाडीको लर्कोले निषेधाज्ञालाई पूरै बिर्साइदिएको देखियो । ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति भए पनि सडक सधैैँजस्तै जाम भए । 

 

सरकारले कोरोना भाइरसको संक्रमण उपत्यकामा भुसको आगो जसरी फैलियो भनेर बिहीबारदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ । तर, सडकमा बिहीबार देखिएको यो दृष्यले निषेधाज्ञा निष्प्रभावी भएको छ ।

 

सरकारले जारी गरेको दुई साता लामो (निषेधाज्ञा) को पहिलो दिनमै सयौँ ‘परिचयपत्रधारी’ हरू कार्यालय समयमा एकै पटक सडकमा निस्किँदा ठाउँ-ठाउँमा जाम भएको हो । 


पालिका खबरको टिमले रत्नपार्क, सुन्धारा क्षेत्रको रिपोर्टिङ गर्दा सयौँ गाडी र मोटरसाइकलले सडक जाम भएको थियो । अधिकांशले विभिन्न कार्यालयका परिचयपत्र भिरेको देखियो । सोही कारण गाडी होल्ड गर्ने वा पठाउने भन्ने विषयमा द्विविधा देखिएको ट्राफिक प्रहरीले बताए ।

 

भद्रकाली पुग्दा भने केहीको गाडी रोकिएको देखियो । बिहानैदेखि जिल्ला प्रशासनले जारी गरेको निर्देशनअनुसार परिचयपत्र लगाएर हिँड्दा पनि ट्राफिक प्रहरीले रोकेको गुनासो सर्वसाधारणको छ । ट्राफिक प्रहरीले कसैलाई त्यत्तिकै छाडेको र तरकारी लिन जानेलाई पनि रोकेकामा सर्वसाधारणको असन्तुष्टि देखियो ।


सर्वसाधारणको गुनासो र बिहीबार देखिएको जामले थप चुनौती थपेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले शुक्रबारदेखि निषेधाज्ञामा कडाई गर्ने बताएका छन् भने गृह मन्त्रालयले पनि सोहीअनुसार निर्देशन दिएकाले विस्तारै कडाइ गरिने भएको हो ।


निषेधाज्ञामा तोकिएको समयभन्दा अरू बेला घरबाहिर निस्केर सरकारी अवज्ञा उल्लंघन नगर्न सर्वसाधारणलाई आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

एकातिर उपत्यकाबाट गाउँ फर्किनेको भीडले थानकोटदेखि जाम छ भने अर्कोतिर निषेधाज्ञाको पहिलो दिनमै काठमाडौं उपत्यकामा कार्डधारी व्यक्तिहरूको सवारी लस्करले निषेधाज्ञाको खिल्ली उडाएको छ । यस विषयमा सरकारले ध्यान दिन आवश्यक छ । कडाइ नगर्ने हो भने बिहीबार देखिएको सडक जाम आगामी दिनमा बढ्न सक्छ ।