close

बाँकेकाे खुसीः कोरोना जित्ने बढे, संक्रमण पनि घट्दाे (भिडियो खबर)

बाँकेकाे खुसीः कोरोना जित्ने बढे, संक्रमण पनि घट्दाे (भिडियो खबर)

ADVERTISEMENT

बाँके - वैशाखको पहिलो साता नेपालमा कोरोना भाइरसको संक्रमण उच्च देखियो । भारतमा संक्रमण दर बढीरहँदा नेपालमा पनि संक्रमितको संख्या बढ्ने आकलन गरिरहँदा लुम्बिनी प्रदेशको बाँके संक्रमणको हटस्पट बन्न सुरु गरिसकेको थियो । संक्रमितको थामि नसक्नुको भीडले अस्पताल भरिएका थिए ।

 

मृत्यु हुनेको संख्या उकालो लागिरहेको थियो । बाँकेमा निषेधाज्ञा नगरे अवस्था भयावह हुने भन्दै स्थानीय प्रशासनले सरकार गुहारिरहेका थिए । अस्पतालमा चित्कार सुनिन थालिसकेको थियो । स्थानीय सरकार के गर्ने ÷के नगर्ने भन्ने चिन्तामा थिए । प्रशासनले निषेधाज्ञा लगायो । अहिले त्यही निषेधाज्ञाका कारण महामारी नियन्त्रणमा आउने क्रम जारी छ ।

 

अस्पतालमा शय्या खाली हुन थालिसकेका छन् । स्थानीय सरकारको सहयोगमा अहिले बाँके विस्तारै बौरिँदै गएको छ । बाँके जिल्लामा पछिल्लो केहिदिन यता कोरोना संक्रमणको दर घट्दै गएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या घटेको पाइएको हो ।

 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबबाट आउने पिसिआर रिपोर्टमा संक्रमितको संख्या घटेको देखिन्छ । यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना संक्रमण दर दैनिक रुपमा ८० देखि ९३ प्रतिशतसम्म पुग्ने गरेको थियो । केहिदिन यता कोरोना संक्रमणको दरमा कमी आईरहेको भेरी अस्पतालका मेसु डा. प्रकाश थापा बताउँछन् । उनका अनुसार पछिल्लो समय बाँकेभन्दा अन्य जिल्लाका मानिसमा कोरोना संक्रमण देखिने गरेको छ ।

 


कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार र आईतबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु भएन । शनिबार अपराह्न चार बजेदेखि सोमबार बिहान ८ बजेसम्म बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पहिलोपटक जिल्लाका कुनै पनि संक्रमितको मृत्यु भएन । तर, सो अवधिमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १३ जना सङ्क्रमितको भने उपचारकै क्रममा मृत्यु भएको थियो  ।

 

जसमध्ये शनिबार राति ८ जना र आईतबार राति ५ जना छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि बिरामीको चाप घट्दै गएको र संक्रमणको दरपनि घट्दै गएको अस्पतालका चिकित्सक रोमन किदवाई बताउछन् । बाँकेमा रहेका विभिन्न अस्पतालका कोभिड बेड खालि हुदै गएका छन् ।

 

पछिल्लो समय गम्भीर खालका कोरोना संक्रमितको संख्या घट्दै जान थालेपछि अस्पतालहरुमा कोभिड शय्याहरू खाली हुँदै गएका हुन् । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थानीय सरकार, सामाजिक संघसंस्था, नागरिक समाज लगायतको प्रयासमा बाँकेमा कोरोनाको प्रभाव कम हुदै गईरहेको बताए । 


कोरोना माहामारीको यो भयावह अवस्था नियन्त्रण गर्न स्थानीय सरकारको पनि धेरै भूमिका छ । कामको बाँडफाँट गरेर पालिकाका सबै जिम्मेवार व्यक्ति माहामारी नियन्त्रणमा लागेका छन् । खजुरा गाँउपालिका पनि सकेसम्म कम क्षति होस् भनेर कोरोना नियन्त्रणमा लागि परेको छ ।  


पछिल्लो केही दिन यता बाँकेमा मात्रै होइन देशभर संक्रमितको संख्या घटिरहेको देख्न सकिन्छ । तर, परीक्षणको दायरा नबढाउँदा संक्रमणको संख्या घटेको पनि भनिएको छ । अझै ५० जिल्लाको अवस्था भयावह रहेको सरकारी विश्लेषण छ । महामारी नियन्त्रणमा आउन चार हप्ता लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बताइरहेको छ ।

 

बाँकेमा पनि महामारी घटेको भन्दै खुसी हुनु भन्दा सतर्कता अझै अपनाउन आवश्यक छ । किन भने महामारीको तेस्रो लहर फैलन सक्ने चेतावनी पनि आउन थालिसकेको हुँदा मास्कको प्रयोगमा भने कुनै कमि राख्नु हुँदैन ।