close

बजेनन् ढोलझ्याम्टा, नाचिएनन् साकेला 

बजेनन् ढोलझ्याम्टा, नाचिएनन् साकेला 

Trulli
ADVERTISEMENT

खोटाङ– कोराना महामारीका कारण खोटाङमा किरात राई समुदायको उभौली सुनसान बनेको छ । भेला भएर गरिने सामाजिक तथा सांस्कृतिक कार्यका माध्यमबाट कोभिड–१९ को संक्रमण फैलिने खतरा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कुलपूजा, साकेलालगायत चाडपर्व नगर्न सूचना जारी गरेपछि साकेला उभौलीलाई विधि फुकाउनमै सीमित गरिएको हो ।

 

खोटाङमा किरात राई यायोक्खाको कार्यालयमा विधिवत् सुरु गरेर सयौँको संख्यामा मझुवागढीमा पुगेर साकेलाको औपचारिक सुरुआत गर्ने परम्पराका बीच बुधबार थोरै संख्याको उपस्थितिमा साकेला पूजेर उभौली सुरु गरिएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए ।

 

यायोक्खा र किरात सेवा समाजको २ समुहले यायोक्खाको प्रांगण र मझुवागढीमा पुगेर औपचारिकताका लागि साकेला पुजेका छन् । साकेला पुज्नेबाहेक भेला भएर नाचगान नगर्न मातहतका कमिटीलाई आह्वान गरिएको यायोक्खाका सचिव किरातले जानकारी दिए ।

 

किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँमा ढोल–झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्नुपर्नेमा कोभिड–१९ महामारीका कारण सुनसानजस्तै बनेको छ । महामारीका कारण लगातार साकेला उभौली प्रभावित भएको यो दोस्रो वर्ष हो । 


वैशाख पूर्णिमा अवसरमा सुरु भएको साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुरलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामसहित मनाउने गरिन्छ ।

 

राई, लिम्बू, याक्खा, सुनुवारलगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको किरात राई यायोक्खाका अध्यक्ष हात्तीराम राईले बताए ।

 

साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हातखुट्टाले भाका टिप्दै साकेला सिली नाच्न सुरु गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा १–१ महिनासम्म मनाउने गरिन्छ । 

 

साकेला अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै एकआपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने चलन छ । 

 

चराचुरुंगी बेँसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेँसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ । साकेन्वा, साकेवा, साकलालगायत नामबाट चिनिने साकेला अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ । 

 

किरात बसोबास रहेका प्रत्येक गाउँका युवायुवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जयमान बन्ने गरेको छ । आफन्त, साथीभाइ, नाताकुटुम्ब, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान–प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ ।

 

विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैरकिरातीले समेत जातीय सद्भाव र सांस्कृतिक सह–अस्तित्वका रूपमा साकेला नाच्ने गरेका छन् । साकेला पर्व र साकेला नाचको सुरुका विषयमा विभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइ पाइन्छन् ।

 

यसको सुरुआतका विषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइ छन् । यद्यपि किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरु गरेको किंवदन्तीमा सबै एकमत छन् ।