ताप्लेजुङ– सरकारले बजेट वक्तव्यमार्फत ताप्लेजुङस्थित सुकेटार विबमानस्थलको नाम परिवर्तन गर्ने निर्णय लिएपछि मिश्रित प्रतिक्रिया आउन थालेका छन् । सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति अधिकांशले विरोध जनाएका छन् । पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति सांकेतिक विरोध बुझिने घुमाउरो प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुअघि त्यसको आवश्यकता, औचित्य, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण हुनुपर्छ । यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम
पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भने मात्रै सही परिणाममा पुग्न सक्छ । अन्यथा, विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्छ ।’
भट्टराईको प्रतिक्रिया आउनुअघि माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेमले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति सामाजिक सञ्जालमै पूर्वमन्त्री भट्टराईको औपचारिक धारणा माग गरेका थिए । सरकारले शनिबार आर्थिक २०७८÷७९ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमार्फत सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको नाम आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरिने घोषणा गरेको थियो ।
सरकारले गरेको सो निर्णयको अधिकांशले विरोध जनाएका छन् । विमानस्थलको नाम परिवर्तनप्रति असहमति जनाउँदै आइतबार अपराह्न सर्वदलीय बैठकसमेत आह्वान गरिएको छ । सुकेटार विमानस्थलको नाम परिवर्तनको नागरिक स्तरबाट समेत विरोध हुन थालेको छ ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाडांैका उपाध्यक्ष टंक श्रेष्ठले सामाजिक सञ्जालमा थातथलोको नाम सुकेटार परिवर्तन गर्ने प्रक्रियाको विरोधमा आन्दोलनमा उत्रन आह्वान गरेका छन् ।
एमाले जिल्ला सचिव दीपेन पोमूले सांकेतिक प्रतिक्रिया दिँदै ‘मुकुम्लुङ पाथीभरा हुँदा कसैको टाउको दुखेन त ? मुकुम्लुङ पहिला कि पाथीभरा पहिला ? भन्ने प्रतिक्रिया दिएका छन् । कांग्रेसका युवा नेता जंग सुनुवारले सुकेटार एयरपोर्टलाई रवीन्द्र अधिकारी विमानस्थल बनाउनुपर्छ भने सिफारिस गर्ने को हो भनेर प्रश्न गरेका छन् ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले थातथलो र ऐतिहासिक पृष्ठभूमिको नाम सुकेटारलाई नामेट गर्ने कार्य सह्य नभएको भन्दै सरकारको निर्णयको कडा प्रतिवाद गरेका छन् । अधिकांश स्थानीयले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति आपत्ति जनाउँदै सरकार त्यो निर्णयबाट तत्काल पछि हट्नुपर्ने भनेका छन् ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पर्यटन व्यवसायी आङ्छिरिङसहित ६ जनाको १५ फागुन २०७५ मा ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । सरकारले उनीहरूकै सम्मानमा दुबै विमानस्थलको नामकरण गरेको दाबी गरेको छ । तर, उनीहरूको मृत्युसँग सुकेटार विमानस्थलको कुनै सम्बन्ध नरहेको भन्दै अधिकांश स्थानीयले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् ।