close

पहिरोको चपेटामा गल्याङको लल्याङ बस्ती

पहिरोको चपेटामा गल्याङको लल्याङ बस्ती

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङमा रहेको बस्ती पहिराको जोखिममा परेको छ । करिब १ सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिकै पुगेपछि स्थानीयमा त्रास छाएको हो ।

 

भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिरोका कारण बर्खा सुरु भएसँगै यस क्षेत्रमा बस्दै आएका स्थानीय त्रसित बनेका हुन् । 


विभिन्न समय पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रम सञ्चालन भए पनि सार्थक हुन नसकेको स्थानीय बताउँछन् । पहिरोलाई बेलैमा नियन्त्रण गर्न नसके जोखिमपूर्ण अवस्था आउन सक्ने स्थानीय छविलाल भट्टराईले बताए । 

पहिरो गएको डाँडाको माथि समथर भूूभाग र उब्जाउपूर्ण जमिनका साथै आँधीखोलाको पानीले सिँचाइको सुविधासमेत भएकाले स्थानीयले मौसमअनुसारको खेती लगाएर हराभरा बनाएका छन् ।

 

यहाँको जमिन धसिँदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् । पहिराका कारण बस्तीको वरिपरि रहेका खेतमा समेत ठूल्ठूूला धाँजा फाटेको स्थानीय नेत्रप्रसाद अर्यालले जानकारी दिए । 


बस्तीको दुवैतिरबाट खोलाले घेरेको र सो क्षेत्रको भूबनोट कमजोर रहेकाले बस्तीभन्दा धेरै तलबाट वरिपरिको पूरै जमिन धस्किँदा ठाउँ-ठाउँमा निरन्तर पहिरो गएकाले बस्ती थप जोखिममा परेको हो ।


सो क्षेत्रको जमिन अत्यन्त कमजोर माटाले बनेकाले बस्तीका साथै आँधीखोला जलविद्युुत् गृहमा समेत असर पर्ने देखिन्छ ।