रुकुम पूर्व- कोरोनाका कारण यतिबेला चोक, चौतारा, सार्वजनिक क्षेत्र सुनसान छन् । हरेक वर्षको यो समय बाक्लो उपस्थिति हुने ठाउँगाउँ सुनसान भएका छन् । नाच्ने, गाउने त परको कुरा । केही संख्यामा जम्मा हुने अवस्थासमेत छैन । गत वर्ष र यस वर्ष कोरोना संक्रमणका कारणले कारण बलपूजा अर्थात् भुम्या पर्व मनाउन सुनसान भएको हो ।
पहिलो वर्षमा जेठदेखि भुम्या सुरु गरेर जेठ मसान्त र १ असारमा लेकमा गई फूल टिप्ने र भूमि देवतालाई धारधुप गरी परापूर्वकालदेखि गाउँ-गाउँमा भुम्या पर्व मनाउने गरिन्थ्यो । तर, कोरोना संक्रमणका कारण भुम्याको सुरुआतसम्म भएन । कोरोना महामारीले यो पर्व मनाउन दिएन । कोरोना भाइरसका कारण न सर्वसाधारणले भुम्या पर्वको तयारी गरे, न त हाल धुमधामका साथ मनाउने तयारी नै भयो ।
‘यो वर्ष भुम्या पर्व मनाउन सम्भव भएन,’ भूमे वडा नम्बर २ गाबाङका बिरबहादुर बुढा मगरले भने, ‘यो पर्व मनाउन थालेदेखि पहिलो र दोस्रो पटक रोकिएको हुनुपर्छ । कोरोनाको त्रासले सामूहिक रूपमा मनाइने भुम्या पर्व मनाउन डराउनुपर्ने अवस्था रह्यो ।’ मीठोमसिनो खाने, घरमा परिवारले मात्रै पूजापाठ गरेर भुम्या मनाए पनि बाँकी सामूहिक रूपमा हुने काम बन्द भएको बुढामगरले जानकारी दिए ।
भूम्या कसरी नाचिन्छ ?
ठाउँ र बस्तीअनुसार यसलाई फरक-फरक नामले चिनिन्छ । कतै बल्क, कतै नामक, बलपूजा, कतै भुम्याकै नामले यो पर्व चिनिन्छ । यसलाई भुम्या पर्वभन्दा सबैले बुझ्छन् । दसैँ, तिहार तथा अरू चाडबाडलाई खासै वास्ता नगर्ने मगर समुदाय भुम्या पर्वलाई महत्त्व दिएर मनाउँछन् । लेकबेँसी अर्थात् भूमि पुज्ने पर्व बलपूजा अर्थात् भुम्या नाच हो । जेठ मसान्त र १ असार १ मा लेकबेँसीलाई पुज्नुका साथै असार पहिलो सातासम्म दैनिक नाचगान गर्ने गरिन्छ ।
वर्षाको समय लेकबाट बाढीपहिरो नझरोस्, बेँसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस्, बालीनाली सप्रिओस्, रोगव्याधि, महामारी, आँधीहुरी नआओस् भन्ने जनविश्वासका साथ बलपूजा मनाउँदै आएको मगर समुदायको जनविश्वास छ ।
यो वर्ष भूमि देवतालाई शान्त गर्न मात्र पूजा गरिएको छ । भूम्या नाचमा २२ जना नाच्ने गर्छन् । उक्त नाच ग्रामीण चालचलन तथा रीतिरिवाजलाई प्रत्यक्ष चित्रण गरिएको हुन्छ । सुरुमा गुरुचेला तथा भुम्या नाचको नामबाट आरम्भ गर्ने गरेको स्थानीय अगुवा बताउँछन् । नाचमा हात मिलाउने गरिन्छ, जसले एकअर्कामा सद्भाव, मित्रता कायम राख्ने मान्यता छ । दैनिक कामकाजमा प्रयोग गरी खुकुरी नाच पनि चलाइने गरेको छ ।
यस्तै गाई दुहुने, फूल टिप्ने, निगालो निकाल्ने, दल्कनी नाच, गुना बसाल्ने, तीनपाइले, घुमाउने, एकहोरो, दोहोरी, रुमाल सप्काउनेलगायत नाचको नामबाट प्रत्येकको फरक-फरक लयको बाजामा नाचको नाम दिएको आधारमा हाउभाउ, इशारामा नाचिने गरेको भूमे वडा नम्बर २ काँक्रीका मदन रोका मगरले बताए ।
पोसाकमा सजावट
रुकुम, रोल्पा, बाग्लुङ आसपासका मगर खामभाषी समुदायले मुख्यगरी यो पर्व मनाउने गर्छन् । तर, पछिल्लो समय यहाँका स्थानीय बसाइँसराइ गरी विभिन्न ठाउँ गएकाले उक्त ठाउँ तथा जिल्लामा पनि मगर समुदायले मनाउने गरेका छन् ।
पुराना पोसाकमा सजिएर नाचगान गर्ने गर्छन् । शिरमा ढाका टोपीसहित पगरी घुसाइएको हुन्छ । मगर समुदायमा प्रचलित भेषभूषामा गुन्यूचोली, पछ्यौरी, गरगहना, गाडा, पटुका, चौबन्दी, खुर्पेटो भिरेरै झकिझकाउ भएर बाहिरी घेरामा महिलाको लाइन र भित्री घेरामा पुरुषको लाइनमा नाच्ने चलन छ ।