close

स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या : घटनामा संलग्न दुई पक्राउ

स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या : घटनामा संलग्न दुई पक्राउ

Trulli
ADVERTISEMENT

सर्लाही– सामान्य विवादलाई लिएर डोजर (स्काभेटर) को बकेटले हानेर वडाध्यक्षको हत्या भएको छ । सर्लाहीको ईश्वरपुरमा गए राती ११ बजेको समय ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको डोजरको बकेट प्रहारबाट हत्या भएको हो ।

 

प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई वडा नम्बर ३ बाडेटोलास्थित मुखलाल दास पोखरी नजिकै माटोले पुरेको अवस्थामा उद्दार गरेको थियो । तत्काल अस्पताल पु¥याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरले जनाएको छ । वडाध्यक्ष श्रेष्ठ भक्तिपुर निवासी हुन् । 

 

ईश्वरपुरको उक्त वडामा पहिले समय सरकारी स्वामित्वका पोखरीको स्तरोन्नति र सरसफाइको काम चलिरहेको थियो । मुखलाल दास पोखरी सरसफाइको ठेक्का पाएका स्काभेटर ठेकेदार, स्काभेटर चालक र वडाध्यक्ष सँगै बसेर राती अबेरसम्म खाजा खाएका थिए । 

 

सोही क्रममा डोजर चालक र वडाध्यक्षबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादकै बीच उनीहरू खाजा खाएको स्थानबाट उठेर हिँडेका थिए । बाटो हिलो र चिप्लो भएकाले वडाध्यक्ष श्रेष्ठले डोजर चालकलाई जबर्जस्ती चप्पल बोक्न लगाएपछि चालक आक्रोशित भएको प्रहरीको भनाइ छ । 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिङ राठौरले भने, ‘हिलोमा वडाध्यक्षले चालकलाई भर दिन भनेको र भर दिन खोज्दा घाँटी अँठ्याएको भन्दै गाली गरेपछि चालकले डोजर स्टार्ट गरी बकेटले हानेर वडाध्यक्ष श्रेष्ठलाई माथिबाट माटोले पुरेको पाइएको थियो ।’

 

जानकारी पाएलगत्तै घटना स्थल पुगेको प्रहरी टोलीले वडाध्यक्ष श्रेष्ठलाई अचेत अवस्थामा हिलो माटोले पुरेको अवस्थामा फेला पारेको थियो । उनले घटना पूर्वयोजना नभई आवेशमा आएर घटाएको देखिएको बताए । 

 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका वडा नम्बरका ३५ वर्षीय पे्रमराज दाहाल र चालक हरिपुर नगरपालिका वडा नम्बर १ हजार बिघाका ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

 

दाहाललाई घटनालगत्तै र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजे लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवा हिरासतमा राखिएको छ । 

 

वडाध्यक्षको हत्या भएको घटनालगत्तै प्रारम्भिक अनुसन्धान तथा फरार रहेका चालकको खोजीका लागि जिल्ला प्रहरी प्रमुख एपसी राठौरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय केशरगन्ज, इलाका प्रहरी कार्यालय भक्तिपुर र इलाका प्रहरी कार्यालय लालबन्दीलगायत प्रहरी युनिटबाट रातभरि प्रहरी परिचालन गरिएको थियो । मृतक वडाध्यक्ष श्रेष्ठको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । घटनापछि स्थानीय वडावासी भने शोकमा डुबेका छन् ।