close

रोगले भन्दा भोकले तड्पिदैछन् हरिकलाहरू 

रोगले भन्दा भोकले तड्पिदैछन् हरिकलाहरू 

Trulli
ADVERTISEMENT

सुर्खेत– कोरोना महामारीका कारण जारी निषेधाज्ञाले दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ की हरिकला वादीलाई यतिबेला हातमुख जोड्नै समस्या छ ।


माटोको सुल्पा बनाएर बेच्दै आएकी हरिकला जारी निषेधाज्ञाका कारण घर बाहिर निस्किनसमेत पाएकी छैनन् । साँझ–बिहान एक छाक खानलाई घरमा अन्नको एक दाना पनि छैन । न त ओछ्याउने लत्ताकपडा नै । 

 

साँझ–बिहान माटोसँग खेल्दै एक छाक जुटाउन माटो मुछ्दै सुल्पा बनाउनु उनको दैनिकी हुने गरेको छ । उमेरले ४५ वर्ष कटेकी उनलाई न कोरोनाले छोएको छ, न त निषेधाज्ञाले नै । 

 

जारी निषेधाज्ञाका कारण गाउँसहर जानु त परैको कुरा हो, बनाएको सुल्पासमेत बेच्न नसकिएको उनी सुनाउँछिन् । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाअघि उनको दैनिकी सहजै चलिरहेको थियो । परिवारका ३ सदस्यको मृत्यु र जारी निषेधाज्ञाले साँझ–बिहानको छाक टार्न हम्मे–हम्मे परेको उनी बताउँछिन् । 

 

पहिले सासू–ससुरा, एक छोरा, एक छोरी र लोग्नेसहितको परिवारले दुःख गरेरै भए पनि बिहान–बेलुकाको खाना जुटाउँथे । अहिले सहारा भन्ने एउटा छोराबाहेक अर्थोक केही छैन ।

 

४ वर्ष पहिले ससुराले संसार छाडे । ससुरा खसेको घाउ नपुरिँदै सासूको पनि मृत्यु भयो । त्यसको केही समयपछि हरिकलाको जिन्दगीमा ठूलो व्रजपात आइलाग्यो । 

 

खोलामा जाल खेल्ने क्रममा श्रीमान् मृत्यु भएको ७ वर्ष पुगेको उनी बताउँछिन् । ‘श्रीमान् पनि मरिगए । छोरीको पनि अन्तै बिहे भयो । अहिले आमाछोरा मात्र छौँ । दैनिक ज्यालादारीमा काम गर्दै आए पनि कोरोनाले छेकेपछि भोक टार्न सकिएको छैन’, उनी दुखी सुनिन्छिन् । 

पेटको आगो बुझाउन बिहान भालेको डाकोसँगै उठ्छिन् । स–सानो काठको मुंग्रो समाउँदै माटोसँग पौठेजोरी खेल्छिन् । कुटेको माटोलाई सुल्पा बनाउँदै साँझ परेको पत्तै पाउँदैनन् । 

 

‘बिहानदेखि दिनभर माटो कुट्दै सुल्पा बनाउँछु’, उनले भनिन्, ‘अर्को दिन यिनै बनाएका सुल्पा लगेर गाउँ जान्थँे । तर, निषेधाज्ञाका कारण अहिले बनाएका सुल्पा घरमैै थन्किएका छन् ।’

 

आफूले बनाएका सुल्पा गाउँघरमा बिक्री हुने भए पनि अहिले घरमै थन्क्याउनुपरेको उनले सुनाइन् । ‘एउटा सुल्पालाई ४० रुपैयाँमा बेच्छु । मिहिनेत गरेको आधा पनि हुँदैन । नबेचौँ पेटको भोक मेट्न सकिँदैन’, उनले भनिन् ।

 

पहिलेको पुख्र्याैली पेसा भनेकै मादल, सारंगी, सुल्पालगायत बाजा थिए । तर, बजारमा प्लास्टिकका छ्यापछ्याप्ती आउन थालेपछि सबै ओझेल पर्दै गएको उनको गुनासो छ । 

 

कोरोनाका कारण सुल्पा बेच्न नपाएपछि छोराले निषेधाज्ञा छलेर खोलामा जाल खेलेर ल्याएको माछा बेचेर नुनतेलको जोहो गरिरहेको उनले बताइन् ।

 

‘आफ्नो घर छैन । अर्कैको घरमा बसेका छौँ । त्यही पनि पानी पर्दा चुहिन्छ । राती ओछ्यानमै पानी पुग्छ’, उनले भनिन् ।