close

तनहुँमा बाढीपहिरोको वितण्डा : २ जनाको मृत्यु, ६ घाइते

तनहुँमा बाढीपहिरोको वितण्डा : २ जनाको मृत्यु, ६ घाइते

Trulli
ADVERTISEMENT

तनहुँ– बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

 

बन्दीपुर गाउँपालिका वडा नम्बर २ तामुङकी ७२ वर्षीया हरिमाया सार्की र करिब ३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको वडा सदस्य हर्कबहादुर थापाले बताए ।

 

७२ वर्षीया हरिमाया घरमा एक्लै बस्दै आएकी थिइन् । उनको घरमाथिको सडकबाट बिहान ६ बजे खसेको पहिरोले पुरिएर मृत्यु भएको हो । 

 

सरस्वतीको भने बिहान ३ बजे खसेको पहिरोले च्यापिएर मृत्यु भएको थापाले बताए । उनको परिवारका ३ जना घाइते भएका छन् ।

 

मृतकका ससुरा ६६ वर्षीय दिलबहादुर थापा मगर, सासू ५८ वर्षीया दाउरीमाया र देवर २६ वर्षीय सुवास घाइते भएका छन् ।

 

घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनीहरू खतरामुक्त रहेको वडा सदस्य थापाले सुनाए । अर्कै घरमा सुतेका सुवासकी श्रीमती र छोरा भने सकुशल छन् ।

 

घर माथिबाट खसेको पहिरोले घर ढल्दा उनीहरू च्यापिएको अवस्थामा फेला परेको वडा सदस्य थापाको भनाइ छ । ‘२ दिनअघि पनि माथिबाट पहिरो खसेर सडकमा थुप्रिएको थियो । राती त्यही थुप्रिएको पहिरोसहित सडक तलबाट खसेछ’, उनले भने ।

 

२ वर्षअघि मात्रै यहाँको सडक चक्लाएर ८ मिटर फराकिलो बनाइएको थियो । सडककै कारण पहिरो खसेको उनको अनुमान छ । उनका अनुसार तामुङमा आधा दर्जन घर पहिरोको जोखिममा छन् । 

 

शुक्लागण्डकीमा पनि पहिरोमा परेर ३ जना घाइते भएका छन् । सबैको अवस्था सामान्य छ । शुक्लागण्डकी वडा नम्बर १० सिम्लेमा चेतबहादुर भुजेलको घरमाथिको सडकबाट पहिरो खस्दा उनकी श्रीमती ६० वर्षीया खगीमाया र नाति १४ वर्षका विज्ञान घाईते भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए ।

 

घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा उपचार भइरहेको छ । यी दुवैको अवस्था सामान्य छ । पहिरो खस्दा खगीमाया भान्छामा र विज्ञान शौचालयमा रहेको स्थानीयले बताए ।

 

मूल घरमा रहेका अन्य ६ जना परिवारका सदस्य भने सकुशल छन् । भुजेलको गोठसमेत पहिरोले पुर्दा १० वटा बाख्रा मरेका छन् । यस्तै, सोही स्थानका टेकबहादुर महतको पनि पहिरोले १० वटा बाख्रा र १ भैँसी पुरेको छ । 

 

शुक्लागण्डकी वडा नम्बर १० खोरादीमा पनि पहिरोले घर बगाएर ५४ वर्षका भविलाल विक घाइते भएका छन् ।

 

उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको वडा कार्यालयले जानकारी दिएको छ । उनको अवस्था सामान्य छ । शुक्लागण्डकीका विभिन्न स्थान डुबानमा परेका
छन् । 

 

व्यास नगरपालिकामा छाब्दी खोलामा आएको बाढीले पक्की पुलै बगाइदिएको छ । बाढीले बुद्धसिंह मोटर मार्गमा पर्ने व्यासको वडा नम्बर १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको हो ।

 

पुल बगाएसँगै बुद्धसिंह मार्ग, केशवटार मार्गमा आउजाउमा समस्या भएको छ । पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ ।

 

पृथ्वी राजमार्गको दुलेगौडा–खैरेनीटार सडक खण्ड जलमग्न बनेको छ । भारी वर्षाले जलमग्न सडकमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको छ । 

 

जिल्लाका धेरैजसो स्थानमा पहिरोले ग्रामीण सडक अवरुद्ध बनेका छन् । सयौँ घर जोखिममा छन् । हजारौँ हेक्टरमा लगाइएको धानबालीमा बाढीले क्षति पु¥याएको छ ।

 

निरन्तर वर्षाका कारण अझै क्षति हुन सक्ने भएकाले चनाखो बन्न प्रशासनले अनुरोध गरेको छ । तनहुँ हुँदै बग्ने सेती, कालीगण्डकी, मादी, मस्र्याङ्दी नदीमा पानीको वहाब बढेको छ । साना खहरे खोलामा बाढी आएको छ ।