close

बागमती नगरपालिकाकाे नवजनजागरण माविका छात्रालाई साइकल उपहार

बागमती नगरपालिकाकाे नवजनजागरण माविका छात्रालाई साइकल उपहार

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको बागमतीस्थित नवजनजागरण माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको छ ।  शुक्रबार प्रदेशसभा सांसद डिल्ली उप्रेतीले विद्यालयका छात्रालाई साइकल वितरण गरेका हुन् ।


प्रदेश सरकारको मुख्यमन्त्री बेटी बचाओ, बेटी पढाओ कार्यक्रमअन्तर्गत विद्यालयलाई प्राप्त साइकल कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरण गरिएको नवजनजागरण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । 

 

कार्यक्रमअन्तर्गत ६५ छात्राका लागि साइकल प्राप्त भएको विद्यालयले बताएको छ । साइकल पाएपछि ग्रामीण भेगका छात्रालाई विद्यालय आउजाउ गर्न सहज हुनेछ । कार्यक्रममा प्रदेशसभा सांसद उपे्रतीले साइकल वितरण कार्यक्रमले प्रदेशमा लामो समयदेखि विकृत बनेको छोरी नपढाउने परिपाटी अन्त्य गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।


बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा ल्याएको परिवर्र्तनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको उनको भनाइ थियो ।  प्रदेश सांसद उप्रेतीले नगरका सामुदायिक विद्यालयले क्रमशः शिक्षा क्षेत्रलाई आधुनिक बनाउँदै लगेकामा खुसी व्यक्त गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य उप्रेती, बागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष भीमबहादुर कोइराला, अभिभावक संघ अध्यक्ष भूपेन्द्रमान श्रेष्ठलगायत सहभागी थिए । 


सोही अवसरमा सहभागीले विद्यालयले तयार गरेको बालविकास कक्षाको समेत निरीक्षण गरेको विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पोखरेलले जानकारी दिए । हाल उक्त विद्यालयमा पशु विज्ञान विषयसमेत पढाइ भइरहेको छ ।