close

२५ वर्षपछि बल्ल बौरिँदै छ छिपखोलाको ‘कम्युन भिलेज’

१० वर्ष द्वन्द्व र १५ वर्ष ओझेलमा परेको गाउँको मुहार फेर्दै स्थानीय सरकार 

२५ वर्षपछि बल्ल बौरिँदै छ छिपखोलाको ‘कम्युन भिलेज’

१० वर्ष द्वन्द्व र १५ वर्ष ओझेलमा परेको गाउँको मुहार फेर्दै स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

रुकुमपूर्व- १० वर्षे शसस्त्र विद्रोहका बेला जनकम्युन सञ्चालन भएको सिस्ने गाउँपालिका-२, छिपखोला बस्ती बल्ल विकासतर्फ लम्किन थालेको छ । सशस्त्र बिद्रोहका क्रममा सिस्ने-२ छिपखोलाका सबैजना बिद्रोहमा होमिए । सामाजिक रुपान्तरणका लागि राजनीतिक परिवर्तन, आर्थिक आयआर्जनका निम्ति छिपखोलाबासी सामूहिक जनकम्युन सञ्चालन गरी नमुना गाउँ निर्माणको अभ्यासमा लागे । 

 

बिद्रोह अवधिभर अर्थात १० वर्ष कम्युन अभ्यास गरेको र पछिल्लो १५ वर्ष चुपचाप बसेको छिपखोला बल्ल नमुना गाउँ निर्माण अर्थात विकास तर्फ चम्किदैँ छ । ४५ घरधुरी मात्र रहेको यो गाउँमा पुनमगर जातिको मात्र बसोवास छ । १० घरपरिवारको कम्युन सञ्चालन गरेको तत्कालीन माओवादीले जनवादी विद्यालय समेत सञ्चालन गरेको थियो । 

 

२०६१ सालमा तत्कालीन जनसकारले ३ किलोवाट क्षमताको छिपखोलामा विद्युत् उत्पादन थालेको थियो । यो आयोजना हालसम्म पनि सञ्चालनमै छ । कृषि उत्पादनमा पनि खेतीयोग्य जग्गा जमिन, खाद्यान्न, तरकारी, फलफूल, वन, जंगल पर्याप्त रहेकाले भेडा, बाख्रा, भैँसी फर्म खोलेर पशुपान गर्न पनि उपयुक्त रहेको वडाध्यक्ष जीवन केसीले बताए । यही कारण ‘नमुना बस्ती छिपखोला’ को रूपमा विकासतर्फ चम्किदैँ गरेको वडाध्यक्ष केसीको भनाइ छ ।  

 

पूर्वआपूर्तिमन्त्री एवं माओवादी केन्द्रका नेता गणेशमान पुन मगर २०७३ सालमा सांसद् हुँदा संसद् कोषबाट ४० लाख रुपैयाँ छुट्याएर नमुना बस्ती छिपखोलाको अवधारणा ल्याइएका थिए । 

 

प्रत्येक वर्ष वडा, गाउँपालिका, प्रदेश र संघ सरकारबाट विशेष बजेटको व्यवस्था गरी नमुना बस्ती निर्माण तर्फ अघि बढाउँदै अब आत्मनिर्भर छिपखोला बनाउने अभियान तिव्र गतिमा अघि वढेको केसीले बताए । नमुना बस्ती निर्माणलाई पूर्णता दिन र ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्धन गर्नका लागि सर्वे गरिसकिएको छ ।  

 

‘युद्धका क्रममा सिङ्गो गाउँ परिवर्तनका लागि लडाइँमा होमियौँ’, वडा सदस्य जयबहादुर पुन मगरले भने, ‘त्यस क्रममा कतिको ज्यान गयो, कति अङ्गभङ्ग भए, अधिकांश भूमिगत भए, त्यसवेलाको आकांक्षा पुरा गर्न स्थानयि सरकार जुटेको उनको भनाई छ । अहिले छिपखोलामा  करोड रुपेयाँ वढीका बजेटमा उपभोक्ता समिति मार्फत कम्युनकै मोडेलमा काम अघि वढेको छ । 

 

त्यसवेलाको जनसरकारले उत्पादन गरेको ३ किलोवाट क्षमताको विद्युतलाई संरक्षण र उपभोग गर्दै थप विद्युत आपूर्तिका लागि हाल ४० किलोवाटको लघु जलविद्युत आयोजना पनि सञ्चालनमा ल्याइएको छ । उक्त विद्युतबाट छिपखोलासँगै छिमेकी वडाकासमेत गरी १६५ घरधुरी लाभान्वित भएका छन् । 

 

जलस्रोत तथा सिंचाइ विकास सब‐डिभिजन कार्यालय रुकुमपूर्वको १ करोड २६ लाख ३२ हजार ३७७ रुपैयाँ र जनश्रमदान ६ लाख १३ हजार ५ रुपैया गरी १ करोड ३२ लाख ४५ हजार ३८२ रुपैयाँ बजेटले छिपखोलाका सबै खेतीयोग्य जग्गा सिंचाइको पहुँचमा पर्‍याइएको छ । 


गाउँका स्थानीयले अहिले आधारभूत स्वास्थ्य सेवा छिपखोला गाउँबाटै पाइरहेका छन् । कम जनसंख्या रहेको गाउँमै पनि २०७५ सालमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी अहेव र अनमीबाट आधारभूत स्वास्थ्य उपचार पाइरहेका छन् । 

 

विगतको जस्तो तीन-चार घण्टा लगाएर स्वास्थ्य चौकी नायगाडमा जानुपर्ने बाध्यता अब टरेको छ । हाल सञ्चारको सुविधा प्रभावकारी पहुँच नभएकाले सिस्ने-४ दाडिङमा नेपाल टेलिकमको टावर निर्माणको काम भइरहेकाले उक्त टावर निर्माण हुनासाथ सञ्चारको पनि राम्रो पहुँच हुनेछ । 

 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति सम्झौता भइपछि जनवादी विद्यालय स्थापना भएको ठाउँमै विद्यालय स्थापना गरेर ४५ घरधुरी रहेको छिपखोलाका लागि अहिले बालविकास देखि कक्षा ५ सम्म पठनपाठन सञ्चालन गरिएको छ । 

 

वासु स्मृति नमुना जनवादी विद्यालय सञ्चालन भएको ठाउँमा अब अध्ययनका लागि संग्राहलय बनाइने योजना अघि सारिएको छ । यहाँ एउटा मिनी शहीद पार्क पनि बनाइएको छ । ऐतिहासिक कम्युन सात-आठ वर्षसम्म सञ्चालन भएको ठाउँको अवशेषलाई संरक्षण गरिने पालिकाको योजना छ । 

 

१० वर्षे बिद्रोहका क्रममा धेरै धन, जनको नोक्सानी व्यहोरेको छिपखोला गाउँलाई नमुना कम्युन बस्ती निर्माणका लागि दीर्र्घकालीन योजनासहित आफू लागि परिराखेको नेकपा माओवादी केन्द्रका नेता गणेशमान पुन मगर बताउँछन् । 

 

विकासको आधारभूत जग तयार भइसकेकोले समूहिक हातेमालो गरी शिक्षा सुधार, आत्मनिर्भर खेतीपातीलाई जोड दिनु पर्ने भएकोले नेतृत्व तहबाट बजेटको व्यवस्था गराउने र त्यसका लागि स्थानीयले सही सदुपयोग गर्नु आवश्यक रहेको नेता पुनको भनाइ छ ।