close

हिमाल र हुमीलाई ५२ किलोमिटर गुरिल्ला दौडको उपाधि

हिमाल र हुमीलाई ५२ किलोमिटर गुरिल्ला दौडको उपाधि

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– भूमे गाउँपालिका वडा नम्बर ६ महतमा तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल म्याराथन दौडमा हिमाल बुढा मगर र हुमी बुढा मगर च्यानम्पियन भएका छन् ।मंगलबार भएको गुरिल्ला म्याराथनमा महिला २१ र पुरुष १ सय ८ जना गरी जम्मा १ सय २९ जना धावकले स्पर्धा गरेका थिए । 

 

तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा माओवादीका जनमुक्ति सेना हिँडेको ठाउँलाई समेटेर म्याराथन प्रतियोगिता आयोजना गरिएको हो ।

 

महिला/पुरुष समान दूरीको भूमे वडा नम्बर ६ महतबाट सुरु गरिएको दौड ७, २ का विभिन्न वडासँगै छिमेकी रोल्पा थबाङको जलजला पुगेर पुनः महतसम्मको ५२ किलोमिटर दूरीमा दौड गरिएको थियो । 

 

दौडमा पुरुषतर्फ वडा नम्बर २ गाबाङका १८ वर्षीय हिमाल बुढा मगर पहिलो भए । उनले ५२ किलोमिटरको गुरिल्ला पदमार्ग ५ घन्टा ५३ मिनेट २६ सेकेन्डमा पार गरे ।

 

दोस्रोमा वडा नम्बर ६ महतका २१ वर्षीयका कर्माण बुढा मगरले ६ घण्टा १९ मिनेट ३९ सेकेन्ड, तेस्रोमा रुकुम पश्चिम सानोभेरी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय अर्जुनकुमार बस्नेतले ६ घण्टा २२ मिनेट ४३ सेकेन्डमा पार गरे । 

 

यसैगरी महिला तर्फ प्युठानकी २२ वर्षीया हुमी बुढामगरले ८ घन्टा ३२ मिनेट ४७ सेकेन्डमा प्रथम, दोस्रोमा भूमे वडा नम्बर ४ की रोजिना बुढा मगरले भने ८ घन्टा ३७ मिनेट ३४ सेकेन्ड र तेस्रोमा वडा नम्बर ३ की १७ वर्षीया निर्मला पुन मगरले ८ घन्टा ४० मिनेट ३८ सेकेन्डमा ५२ किलोमिटरको दूरी पार गरेका हुन् । 

 

प्रतियोगितामा महिला र पुरुषलाई समान राशीको प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७५ हजार कप मेडल र प्रमाणपत्र, दोस्रोलाई ५० हजार मेडल प्रमाणपत्र र तेस्रोलाई ३० हजारसहित मेडलले पुरस्कृत गरिएको आयोजक भूमे युवा विकास केन्द्रका अध्यक्ष सुनीलकुमार रोका मगरले जानकारी दिए ।

 

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भूमे युवा विकास केन्द्रको आयोजनामा भएको तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल म्याराथनमा रुकुम पूर्व, पश्चिमसँगै रोल्पा, बाग्लुङ, सल्यान, प्युठान, पोखरा, सुर्खेत र सोलुबाट पनि धावकले प्रतिस्पर्धा गरेका थिए । 

 

विजेतालाई नेकपा माओबादी केन्द्रका नेता गणेशमान पुन मगर, प्रदेशसभा सदस्य तेजबहादुर ओली, भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर र छिमेकी रोल्पाको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरलगायतले पुरस्कार वितरण गरे ।