close

ढुंगाकाे खातमा कलिला हात

ढुंगाकाे खातमा कलिला हात

Trulli
ADVERTISEMENT

मुगु- कोरोना महामारीले ठूलाबडा र सुगमकाहरूलाई खान-लाउन उतिसारो नपिरोले पनि दुर्गम बस्तीका पीडा हेरिनसक्नु र भनिनसक्नुका छन् । कोरोनाले बिहान-बेलुकाका खर्च जुटाउने बनिबुतो खाइदिएपछि गरिबनिमुखाको परिवार विछट्टै मारमा परेको छ । अझ दुर्गम कर्णालीको कुरै बेग्लै ।


कोरोनाका कारण घरखर्चको मेसो मिलाउन स्कुल जाने उमेरका आलाकाँचा कोपिला उमेरका बालबालिकाहरूले गिटी कुट्नु कर्णालीका लागि दैनिकी बनेको छ । ओठ निचोरेर दूध निस्कने उमेरका बच्चाबच्चीले गिटी कुटेरै पढाइ खर्च र घरको चुह्लो बाल्नुपर्ने अवस्था छ ।

 

शिरमा नीलो लामो टोपी, नीलै स्विटर, हातमा फलामे हतौडा, आधा रातो काटिएको चप्पल, वरपर गिट्टीका थुप्रो । पहेँला, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौठेजोरी खेलिरहेका छन् ।  आजभोलि उनीहरूको बिहानी-साँझ दैनिकी ढुंगासँगै खेल्नमै बित्ने गरेको छ । ढुंगा, माटोसँगै उनीहरूको दैनिकी गुजारा चलिरहेको छ ।


एकातिर कोभिड-१९ ले विद्यालय बन्द छन् । स्कुल पनि जान पाएका छैनन् । अर्कोतिर घरमा बिहान-बेलुका छाक टार्ने गास पनि छैन ।  एक जोर फेर्ने टालो पनि छैन । कापीकलम किन्ने आयस्रोत त छँदै छैन । कर्णालीका हिमाली जिल्लाका बालबालिकालाई पढाइसँगै दैनिक खाना जुटाउने पिरलोले सताएको छ ।


कर्णालीका १० मध्ये मुगु झनै पिरोलिएको छ । आर्थिक, भौतिक, सामाजिक, स्वास्थ्य शिक्षाले त्यसै पनि पछि छ, मुगु । कोरोनाले गत चैतदेखि अहिलेसम्म मुगुमा निषेधाज्ञा जारी छ ।  विद्यालय बन्द भएको समय आम्दानीका लागि यहाँका बालबालिकाका गिटी कुटेरै आयस्रोत जुटाउन लागेका छन् ।


विशेषगरी छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का दलित बस्तीका बालबालिकाले गिटी कुटाइलाई आम्दानी बनाइरहेका छन् । मुगुकै सम्पन्न बालबालिका बिहान उठ्नेबित्तिकै पठनपाठनमा सरिक हुने भए पनि दलित परिवारका छोराछोरी पढ्नुको साटो काममा लाग्ने गरेका छन् ।


‘घरका कुनै पनि सदस्यको नियमित आम्दानी छैन । बाआमाको जागिर नभएपछि पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ । त्यसले खान पुग्दैन । त्यसैले गिटी कुट्न आएको हुँ’, सेतिबाडा आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा जुमाना कामीले भनिन् । 


उनी अहिले १४ वर्ष पुगिन् । घरमा जहानपरिवार छन् । खाना-लाउन पुग्दैन । लगातार गिटी कुट्दा मासिक २ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन् । उनी मात्र होइनन्, ९ वर्षीय बालसखा सन्तोष कामीको अवस्था पनि उस्तै छ । उनको घरमा उमेर ढल्लेका बुबा छन् । बुबाको काम आरन व्यवसाय हो । तर, यो पेसाले दैनिकी चल्दैन । 


पुराना पुस्ताले यो पेसालाई निरन्तरता दिए पनि नयाँले गर्दैनन् । गिटी कुटेर महिनामा ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको सन्तोष बताउँछन् । अझ गिटी कुट्ने काम पनि धौ-धौले पाइने गरेको उनको गुनासो छ । यहाँका स्थानीय सरकारले महामारीको समय बालबालिकाको नियमित अध्ययनमा ध्यान दिन सकेको पाइँदैन ।