close

सञ्चारको पहुँच बाहिर किम्नी गाउँ: न मोबाइल टावर छ, न त इन्टरनेट सुविधा

सञ्चारको पहुँच बाहिर किम्नी गाउँ: न मोबाइल टावर छ, न त इन्टरनेट सुविधा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ५ का स्थानीय दुर्गम किम्नीमा टावर नहुँदा सूचना प्रविधिबाट वञ्चित भएका छन् । नगरपालिकाका हरेक गाउँ सञ्चार पहुँचमा भए पनि दुर्गम किम्नी विगतदेखि नै सञ्चार प्रविधिबाट टाढा छ ।


लामो समयदेखि किम्नी टावरविहीन गाउँ बनेको छ । किम्नीका स्थानीयलाई इन्टरनेट चलाउन त परको कुरा, मोबाइलबाट कुरा गर्न पनि मुस्किल छ । स्थानीय जनक बुढा भन्छन्, ‘गाउँमा कुनै समस्या हुँदा फोन गर्न अग्लोे डाँडा जानुपर्ने बाध्यता छ । टावर नभएकै कारण कहीँ पनि सम्पर्क हुन सक्दैन ।’

 

किम्नीबासी हालसम्म नेटवर्क क्षेत्रभन्दा बाहिर छन् । चारैतिर पहाडले छेकेको उक्त ठाउँमा नेटर्वक नहुँदा स्थानीयलाई सञ्चारको पहुँच पुगेको छैन । वरिपरि डाँडाकाँडा भएको किम्नीमा तल खोला, खोलाको टुप्पो र वरपर गाउँ छरिएका छन् ।  किम्नी बाजुराको सबैभन्दा बढी पानी पर्ने स्थानका रूपमा समेत चिनिँदै आएको छ ।
 
‘जनप्रतिनिधि निर्वाचित भएको करिब पाँच वर्ष बित्न थाल्यो । कसैले पनि सञ्चार सुविधा उपलब्ध गराउन पहल लिएनन् । ३ वटै सरकारको आँखा दुर्गम किम्नीमा परेन’, स्थानीयको गुनासो छ । एनटिसी/एनसेललगायत विभिन्न नेटवर्क कम्पनीका मोबाइल टावर यो गाउँमा नहुँदा मोबाइल प्रयोगकर्ता मर्कामा परेका छन् ।


सोही कारण स्थानीय अग्लो डाँडामा हातलाई माथि उचालेर मोबाइलबाट कुरा गर्न बाध्य छन । नागरिकलाई इन्टरनेट सेवाका लागि अर्को गाउँ वा कुनै सहर गएर मोबाइल चलाउनुपर्ने बाध्यता रहेको स्थानीय जनक बुढाले बताए ।


उनले भने, ‘फोन गर्न अग्लो डाँडा धाउनुपर्छ । सूचना थाहा पाउन ५/६ दिन कुर्नुपर्छ । बारम्बार टावरका लागि सम्बन्धित निकायमा माग गर्दा पनि कसैले चासो देखाएनन् ।’  टावर नहुँदा अग्लो ठाउँ गएर फोन गर्नुपर्ने र त्यो पनि घाम लागेका बेला काम गर्छ । घाम नलागे, पानी परे, हावाहुरी लागे र हिमपात भए फोन नलाग्ने गरेको स्थानीय सुनाउँछन् ।

 

कोरोनाका कारण विद्यालय बन्द भए । विद्यालय बन्द भए पनि अन्यत्रका विभिन्न विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् ।  किम्नीमा भने बन्दाबन्दीपछि न अनलाइन कक्षा सञ्चालन गरिए, न त कुनै अरू वैकल्पिम माध्यम । बालबालिकाको पढाइ अवरुद्ध हुँदै आएको छ । यसको मुख्य कारण टावर नहुनु नै हो । 


किम्नीकी विद्यार्थी पुष्पा बुढा भन्छिन्, ‘अन्य ठाउँमा अनलाइनबाट पढाइ भइरहेको छ । हाम्रो यहाँ नटर्वक छैन । नेटर्वक नहुँदा अनलाइनबाट पढ्न पाएनौँ । उतिबेला पढेको सबै बिर्सियो । नेटर्वक भएको भए अनलाइनबाट पढ्थ्यौँ ।’  भागौलिक हिसाबले धेरै खोल्साखोेल्सी भएको उक्त ठाउँमा अहिलेसम्म टावर बनाउन राज्यको ध्यान गएको छैन ।


दुर्गम किम्नीमा नेटर्वक मात्र होइन, बिजुलीसमेत निरन्तर आउँदैन । सडक सुविधा छैन । स्थानीय सरकारको ५ वर्षभित्र सबै वडामा सडक पु¥याउने लक्ष्य भए पनि किम्नीमा अहिलेसम्म पुगेको छैन । यहाँका स्थानीय कैलाशमाडांैको डाँडा र बाम्का बजारबाट खाद्यान्न सामग्री बोकेरै लैजान बाध्य छन् ।


त्रिवेणी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गम्बीर बुढाले सबैभन्दा बढी समस्या यातायात र टावरको भएको बताए । यहाँका नागरिकलाई सञ्चार प्रविधिमा जोड्न पहल भइरहेको उनले दाबी गरे ।