close

तनहुँमा बाढीपहिरोको बबन्डर: जेठयता मात्रै ६ जनाको मृत्यु, १ बेपत्ता

तनहुँमा बाढीपहिरोको बबन्डर: जेठयता मात्रै ६ जनाको मृत्यु, १ बेपत्ता

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँमा बुधबार रातैभरि पानी दर्कियो । बिहीबार बिहानीपख पनि पानी बिसाएन । ऋषिङ गाउँपालिका वडा नम्बर ७ दधिवनका पदमबहादुर र देवीसरा थापा दम्पती घरमै थिए । ७ बजेपछि घर माथिबाट पानीको भल आयो । थोरै पहिरो पनि खस्यो । पहिरो झर्ने संकेत पाएपछि घरमा बस्नु खतरा मानेर ज्यान जोगाउन थापा दम्पती सुरक्षित स्थानतिर हिँडे । पदमबहादुरले घरनेर खसेको पहिरो पार गरिहाले । तर, देवीसराको खुट्टा त्यही पहिरोको हिलोमा फस्यो र चप्पल अड्कियो । 


चप्पल निकाल्ने चेस्टा गर्दागर्दै पहिरोले ५२ वर्षीया देवीसरालाई थिच्यो र माटोमै मिलायो । पहिरोमा पुरिएर उनको मृत्यु भएको छ ।  बिहान पहिरोमा पुरिएको उनको शव दिउँसो ४ बजेपछि मात्रै फेला पारिएको छ । देवीसरालाई घरमाथिको पाखो खसेर पहिरोले पुरेको स्थानीय युवा दुर्गाबहादुर थापाले बताए । देवीसराले चप्पल पहिरोमै छाडेर भागेको भए सायद ज्यान जोगिन सक्थ्यो । ‘पहिरो झर्ने खतरा ठानेर भाग्दा झन् त्यही फस्नुभएछ’, उनले भने ।  यहाँका ३ घरलाई पहिरोले पूर्ण क्षति बनाएको छ । तर, देवीसराबाहेक सबैले भागेर ज्यान जोगाउन सफल भए ।

 

बिहीबार ऋषिङकै अर्का पुरुषको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । ऋषिङ गाउँपालिका वडा नम्बर ८ माझकोटका ४१ वर्षीय खुमबहादुर थापाको मृत्यु भएको हो । थापा ऋषिङ गाउँपालिका कार्यालयको सुरक्षागार्ड हुन् । बिहान साढे ५ बजे घरबाट गोठमा जाने क्रममा माथिबाट पहिरो खस्दा बेपत्ता उनको शव साँझ मात्रै फेला परेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।


शृंगपथ सडक तलबाट पहिरो खसेर बेपत्ता उनको दिनभर स्थानीय र प्रहरीले खोजी गरेका थिए । पहिरो ठूलो भएकाले उनको शव फेला पार्न समय लाग्यो । ऋषिङका विभिन्न स्थानमा पहिरो खसेको छ । केही घरमा क्षति भएका छन् । अधिकांश सडक अवरुद्ध बनाएको छ । पहिरोले खेतबारी पुरेको छ ।


जिल्लाको म्याग्दे गाउँपालिकामा पनि बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण उर्लेको म्याग्दे खोलाले ४५ वर्षीय मैत नेपालीलाई बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक युवराज तिम्लिसिनाले बताए । म्याग्दे वडा नम्बर ४ घुम्तीमा पुलमाथि आएको खोला तर्ने क्रममा सोही स्थानका नेपालीलाई बगाएको हो । उनको शव शुक्रबार बिहान मीन माध्यमिक विद्यालयको पश्चिमपट्टिको खेतमा भेटिएको तिम्लिसिनाले जानकारी दिए ।


 
म्याग्दे खोला उर्लेर पृथ्वी राजमार्गसम्मै आएको थियो । सवारी आउजाउमा कठिनाइ हँुदा दुर्घटनाको जोखिम बढाएको थियो । म्याग्दे खोला आसपासका बस्ती डुबानमा परेका छन् । सयौँ रोपनी खेतमा लगाईएको धानवाली नष्ट भएको छ । 

 

तनहुँमा यसपालि बाढीपहिरोले बबन्डर मच्याएको छ । बर्खा सुरु भएपछि हालसम्म पटक–पटक खसेको पहिरोले जिल्लामा ५ जनाको ज्यान लिइसकेको छ । १० जना घाइते छन् । खोलाले बगाएर १ जनाको मृत्यु हुँदा अर्का १ बेपत्ता छन् ।