close

कुडुले घरको संरक्षणमा जुट्यो निस्दी गाउँपालिका (भिडियो खबर) 

कुडुले घरको संरक्षणमा जुट्यो निस्दी गाउँपालिका (भिडियो खबर) 

ADVERTISEMENT

पाल्पा- अहिले गाउँघरमा खरको छानो भएको घर लोप हुने अवस्थामा छ । स्थानीय सरकारले महत्वकांक्षी कार्यक्रमको रुपमा फुसको छानो रहित कार्यक्रम ल्याएपछि त अझ गाउँघरमा विरलै मात्रमा देख्न पाइन्छ, कुडुले घर । तर, पाल्पाको पूर्वी भेगमा अवस्थित निस्दी गाउँपालिका भने खरको छानो भएको कुडुले घरको संरक्षणमा जुटेर पर्यटन प्रर्वद्धनमा अभियानमा लागेको छ ।

 

पाल्पाको पूर्वी भेगमा अवस्थित निस्दी गाउँपालिका वडा नं ३ को खाँदर गाउँमा  देख्न सकिन्छ तल्लो भाग गोलो आकार र धुरीमा चुचुरो परेको झट्ट हेर्दा झुरुङ्ग शैलीमा बनेको घर । यस्ता घर पाल्पाको निस्दी गाउँपालिकाको पहिचान हो । निस्दीका पूर्वजले डाँडामा लाग्ने तीव्र हावाको बेग र मंसिर पुसमा लाग्ने ठन्डी चिसोबाट जोगिन यो कुडुले घरको परिकल्पना गरिएको थियो । 

 

पाल्पाको निस्दी गाउँपालिका ३ खाँदरका ज्ञायम बहादुर  सोमैको  ६० वर्ष पुरानो कुडुले घर खाँदर गाउँको बाटो नजिकै छ । घर नजिक भएर यात्रा गर्ने जो कोही मानिस उनको घरको बनोट, आकार प्रकार, शैली, घर भित्र बस्न मिल्ने क्षमता लगायतको बारे दिनहुँ सोध्ने गर्दछन् । घर भत्काउने सोच बनाएका उनले पछिल्लो समय यही घर हेर्न भने पनि सर्वसाधारण आउन थालेपछि अहिले यसको संरक्षण गरेर बस्ने तयारी गरेका छन् । 

 

सोमैको जस्तै यमबहादुर ढेगाको अनुभव पनि उस्तै छ । गाउँघरमा लोप हुन लागेको कुडुलेलाई पालिकाले  मर्मत सम्भार खर्च दिएर जोगाउने प्रयास गर्नु राम्रो भएको उनको भनाई छ । कुडुले घरमा बस्दा, गर्मीमा सित्तल र जाँडोमा न्यानो हुने भएकाले स्वास्थ्यका लागि समेत राम्रो रहेको ढेगाको अनुभव छ । 

 

निस्दी गाउँ सरकारले फुसको छानो रहित गाउँपालिका बनाउने अभियान अनुरुप पालिकाका ७ वटै वडामा खरको छानोलाई विस्थापन गरेर टिनको छानो टल्काएको छ । तर, निस्दीले वडा नं ३ खाँदर गाउँ सहित १ सय २३ घर परिवारलाई कुडुले घरको मर्मत सम्भार स्वरूप ५ हजार खर्च उपलब्ध गराउन थालेको गाउँपालिकाको भनाई छ । कुडुले घरको संरक्षणले निस्दीको समग्र पर्यटन प्रर्वद्धन र मगर समुदायको संस्कृतिको जर्गेनाको लागि टेवा समेत पुगेको छ । 

 

निस्दीमा आउने आन्तरिक र बाह्य पर्यटकको लागि पालिकाले होमस्टेको स्थापन गरेर कुडुले घरको माध्यम बनाएर पर्यटन व्यवसायलार्ई प्रर्वद्धन गर्ने लक्ष्य लिएको छ । धेरै जसो पालिकाले खरको छानो विस्थापन गरि रहेको बेला निस्दीले परम्परागत कुडुले घरको संरक्षण गरि सुरु गरेको नौलो अभ्यास सराहनीय छ । पालिका जैविक विविधितासँगै पुरानो कला संस्कृतिसँगै भएका पुराना संरचनाको संरक्षणमा गम्भीर छ भन्ने संकेत पनि देखाएको छ ।