close

काेराेना भन्दा क्षयरोगबाट मृत्यु हुने बढी

काेराेना भन्दा क्षयरोगबाट मृत्यु हुने बढी

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेभन्दा क्षयरोगका कारण मृत्यु हुनेको दर बढी रहेको पाइएको छ । स्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्षमा गरेको सर्वेक्षणमा क्षयरोग संक्रमणबाट मृत्यु हुने दर बढी भएको पाइएको हो ।

 

आर्थिक वर्ष २०७७/७८ मा गरिएको परीक्षणमा १४० जनामा क्षयरोगको संक्रमण पुष्टि भएको थियो । तीमध्ये ४ देखि ५ प्रतिशत संक्रमितको उपचार नपाएका कारण मृत्यु हुने गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए ।


बिहीबार गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयले परिवार नियोजन गर्नेको संख्या घटेको तथ्यांक बाहिर ल्याएको छ । स्थायी बन्ध्याकरण गर्नेप्रति दम्पतीको रुचि कम भएको स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।


‘बडिगाड गाउँपालिका र बुर्तिबाङ बजार दुई ठाउँमा शिविर सञ्चालन गर्दा १२ जनाले मात्रै स्थायी बन्ध्याकरण गरेको तथ्यांक छ,’ शर्माले भनिन्, ‘लामो समयको अस्थायी परिवार नियोजनका साधन खोज्ने केही बढी छन् ।’ 


जिल्लाभर धौलागिरि अस्पतालबाहेक स्वास्थ्य संस्थाबाट इम्प्लान्ट र आयुसिडी प्रयोग गर्नेको संख्या ४१ मात्रै छ । कार्यालयले गत आवमा समानीकरण, ससर्त र कोभिड नियन्त्रण तथा रोकथामसमेत गरेर ६८ प्रतिशत भौतिक प्रगति गरेको छ ।


६७ प्रतिशत आर्थिक प्रगति भएको कार्यालय प्रमुख सुरज गुरौले बताए । ‘धेरै तालिम, गोष्ठीलगायतका काम हुन पाएनन् । कोभिड नियन्त्रण र रोकथामका काममा समन्वय गर्न समय खर्चियो,’ गुरौले भने ‘नियमित खोप, पुनर्ताजगी तालिम र कोभिड खोप अभियान निरन्तर चलिरहेका छन् ।’ 

 

राज्य पुनर्संरचना भएपछि समन्वयको मात्रै जिम्मेवारी पाएको कार्यालयले स्वास्थ्य क्षेत्रमा स्थानीय तहको चासो कम रहेको पाइएको जनाएको छ । कार्यक्रम दोहोरिने, स्वास्थ्यका कार्यक्रम प्राथमिकतामा नपर्ने, तथ्यांक तयार गर्न र सूचना प्रवाह गर्न कठिन हुने गरेको गुरौले बताए ।