close

बालीघरे प्रथाको विद्रुप रुप: आरनमै बित्यो जुनी

बालीघरे प्रथाको विद्रुप रुप: आरनमै बित्यो जुनी

Trulli
ADVERTISEMENT

दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिकामा कुसंस्कारको अवशेष बालीघरे प्रथा अझै कायमै छ । नेपालमा अनेक खाले राजनीतिक परिवर्तन भए पनि सामाजिक चेतनाको स्तर नबदलिँदा अझै पनि सामाजिक कुसंस्कार र कुरीतिका अवशेष कायमै छन् ।


जनस्तरमा चेतनाको स्तर बढे पनि आर्थिक अभावले पछौटे अवस्थामा रहेको समुदायलाई सधैँ दबाइराख्ने प्रवृत्ति अझै हट्न नसकेको हो । दैलेखमा करिब डेढ सय बढी परिवार अझै पनि बालीमै आफ्नो श्रम बेच्न बाध्य छन् । 


ठाटीकाँध गाउँपालिकालगायत जिल्लामा करिब डेढ सय घरपरिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् । ठाटीकाँध वडा नम्बर २ का रघे लुवार बालीघरे प्रथाका उदाहरण हुन् । गाउँमा सबैले उनलाई (आरन्या रघ्या बाजे) भनेर चिन्छन् । उमेरले ७४ पुगेर कपालको रौँ र दाह्री फुलेर सेतै छन् । तर, शरीर ओछ्यानमा नपुगुन्जेल आरन पेसा नछाड्ने विचारमा छन्, उनी । 


‘उमेरले ७४ वर्षको भएँ । गाउँपालिका वडा नम्बर १ र २ वडाबाट करिब ४ सय घरधुरीबाट भाँडावर्तन लिएर आउँछन्’, उनले भने, ‘बिहान ५ बजे उठ्छु । प्रति १० देखि १२ वटा आसी कोदाला बनाउँदा बनाउँदै र धार लगाउँदालगाउँदै १२ बजेको पत्तैै हुँदैन । खाना खान बस्छु, खान मन लाग्दैन ।’ आरन पेसाबाट साँझ-बिहानको गर्जो नटरे पनि परिश्रम गरेअनुसारको फल पाउन नसकिएको उनको गुनासो छ । 


‘पहिले बाजेबुबाले गर्दै आएका थिए । त्योबेला ५-७ वर्षको थियो उमेर । साहूको घरमा हलो जोत्ने, मल फाल्ने, बाली लगाउने काम गर्थें’, उनले भने, ‘पछि १५-१६ वर्ष पुगेपछि बुबाको मृत्युसँगै साहूको काम छाडेर बाबुबाजेकै पेसा रोजे,’ उनले भने । ठाटीकाँधको गैरेगाउँ, विशाला, माचखर्क, लकान्द्र, तोलीजैसी, आग्र, भम्क, पाँचलालगायत करिब ४०÷४५ घर बढी परिवार आरनकै भरमा गुजारा चलाउन बाध्य छन् ।

 

आरन पेसामा युवाको रुचि घट्दै 

आरन पेसा गरेर जीवन धान्न मुस्किल भएपछि यो पेसामा युवा पुस्ताको चासो घट्दै गएको छ ।  युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्ने तथा वृद्धवृद्धाले समेत (खलो) श्रमबापत बाली मात्रै पाउँदा आरन पेसा गतिलो आम्दानी दिन सकेको छैन ।


त्यसै कारण पनि यो कामप्रति युवाको वितृष्णा जाग्दो छ । खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहुँदा वृद्धास्थामा समेत यो पेसा अँगाल्नुपरेको रघे लुवारकोे गुनासो छ । यही पेसाबाट उनले १०/१२ जनासम्मको पारिवारिक गर्जो टारेका छन् । पेसा व्यवसाय गर्ने अरू सीप नभएपछि उनीलगायत अन्य आरन व्यवसायी यसैमा आश्रित छन् ।


आरनमा भाँडावर्तन बनाएबापत उनीहरूले खलो (काम गरेबापतको पाउने अन्न) उठाउँछन् । अर्थात् बाली पाउँछन् । गाउँभरका भाँडावर्तन बनाए प्रतिपरिवार उनीहरूले पाउने एक सुपो अन्नबाट गर्जो टार्दै आएका छन् ।

 

कोइला नहुँदा पेसा संकटमा

पछिल्लो समय आरनका लागि आवश्यक पर्ने कोइराला समेत पाइन छाडेपछि आरन पेसा नै संकटमा पर्न थालेको छ । वनजंगल नासिँदै गएपछि पैँयु, साल, सल्लोलगायत रूख लोप हुदै गएकाले पेसा नै संकटमा परेको आरन व्यवसायी बताउँछन् ।


आरन पेसाका लागि पत्थर कोइला भएको भए सहज र टिकाउ हुने रघे लुवार सुनाउँछन् ।  कोइरालाको विकल्पमा आधुनिक आरन व्यवस्थापन गरिदिए आफूहरूलाई सहज हुने अर्का भोटे लुवारको भनाइ छ । ‘हामी आरन पेसा गरेर जीवन धान्नेका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आधुनिक आरनसम्बन्धी सीप उपलब्ध गराए जीवन धान्न सहज हुने थियो,’ उनले भने ।


आरनमा किसानलाई खेतीपाती गर्न र घरव्यवहार चलाउन आवश्यक पर्ने हँसिया, कुटो, कोदालो, फरुवा, बन्चरोलगायत फलामका उपकरण बन्दै आएका छन् । तर, त्यसबापत श्रमको मूल्य नै नउठ्ने गरी अन्न मात्र दिइनु शोषण भएको स्थानीय कमल थापा बताउँछन् । ‘आरने पेसा गरेरै कम्तीमा उनीहरूको जीवनयापन हुने अवस्था बनाउन सरोकारवाला निकायले ध्यान दिन जरुरी छ’, उनले भने ।

 

पालिकाको बजेट कार्यान्वयनै भएन

गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासका लागि ६ लाख रुपैयाँ बजेट कार्यान्वयन हुन नसकेको पालिकाले बताएको छ । 


पालिकाले ठाटीकाँध गाउँपालिकाका ६ वटै वडाका आरन पेसा गरेर जीवन धानिरहेकालाई पालिकाले आर्थिक वर्ष २०७७/७८ मा ६ लाख रुपैयाँ विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाले बताए ।


उनले भने, ‘पालिकाले आरन सुधार तथा क्षमता विकाससम्बन्धी कार्यक्रमका लागि ६ लाख रुपैयाँ बजेट छुट्टाएको थियो । यो वर्ष समय अपुग भएकाले कार्यान्वयन हुन सकेन । अब अर्को वर्ष कार्यान्वयन हुन्छ ।’