close

दशरथचन्दले फोहोर व्यवस्थापन गर्नै सकेन (भिडियो खबर)

दशरथचन्दले फोहोर व्यवस्थापन गर्नै सकेन (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- सफा नगर बनाउने जिम्मा स्थानीय सरकारको हो । सफा नगर बनाउने नगरपालिकाको योजनालाई सफल बनाउने कर्तव्य नगरवासीको हो । तर, यि कर्तव्य र दायित्व दुवै बैतडीको दशरथचन्द नगरपालिकामा देखिँदैन । सडकभरि फोहोर फालिएका छन् । फोहोर गनाएर यात्रा गर्न सक्ने अवस्था छैन ।

 

पालिका र स्थानीयले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा दुर्गन्धले दशरथचन्दको परिचय नै दुर्गन्धित बनेको छ । स्थानीय सरकारले पनि फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड बनाउन नसक्नु र स्थानीयले पालिकाको काममा होस्टेमा हैँसे गर्न नसक्दा दशरथचन्द अहिले फोहोर नगरको रूपमा स्थापित हुन थालेको छ । 


बैतडीका स्थानीय तहले फोहोरमैलाको राम्ररी व्यवस्थापन गर्न सकेका छैनन् । जिल्ला सदरमुकाम मै रहेको दशरथचन्द नगरपालिकाले अहिलेसम्म भरपर्दो डम्पिङ साइड बनाउन सकेको छैन । नगरपालिकाको टिपरमा हालेर लगेको फोहोरमैला जिल्लाकै मुख्य बजार गोठला पानी नजिकै सडकको छेउमा फाल्ने गरिएको छ ।

 

यी सबै प्रकारको फोहोरमैला यसै ठाउमा फाल्ने गरेकाले दुर्गन्ध फैलिने गरेको छ । नगरपालिकाले हरेक वर्ष डम्पिङ साईड बनाउन बजेट समेत छुट्याउने गरेको छ । तर, भरपर्दो डम्पिङ साइड भने बनाउन सकेको छैन । फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्दा रोगका किटाणु फैलने कुरामा दई मत छैन ।

 

अझ दशरथचन्द नगरपालिका जिल्ला सदरमुकामको पालिका भएकाले यहाँ सबै कार्यालय, स्कूल, अस्पताल लगायत सबैजसो सरकारी र गैर सरकारी कार्यालय छन् । तर, जताततै फोहोर फालिएको देखिन्छ । न स्थानीयले फोहोर व्यवस्थापन गरेका छन् न त नगरपालिकाले नै उचित ठाउँमा फोहोर व्यवस्थापन गर्न सकेको छ ।


उसो त फोहोर व्यवस्थापनका लागि दशरथचन्द नगरपालिकाले पहल भने नगरेको होइन । एक पटक वडा न. ६ मा फोहोर व्यवस्थापन गर्न सुरु गर्‍यो । त्यो योजना दीर्घकालिन भने हुन सकेन । गत वर्ष समेत वडा न. ४ कै एक ठाउँमा जमिन खरिद गरेर फोहोर व्यवस्थापन गर्न सुरु गर्‍यो । तर, त्यहाँ भने नजिकै मन्दिर रहेको भन्दै विरोध आएपछि नगरपालिकाले लगानी गरेर बनाएको संरचना समेत प्रयोग गर्न सकेन । 


दशरथचन्द नगरपालिकामा झण्डै एक दर्जन बजार छन् । गोठला पानी बजार, साहिलेक, गढी, देहिमाण्डौ, गुरुखोला, मुस्याचौर, झुलाघाट, सुन्दरखाली लगायतका ठाउँमा बजार छन् । यी बजारमा कतै पनि फोहोरमैला व्यवस्थापन भएको पाइँदैन । न व्यापारी आफैले फोहोरको उचित व्यवस्थापन गर्न सकेका छन् न त नगरपालिकाले नै फोहोर व्यवस्थापन गरिदिएको छ । फोहोर व्यवस्थापनका लागि हरेक वर्ष बजेट ल्याएपनि काम हुन सकेको छैन । यस आर्थिक वर्षमा पनि फोहोर व्यवस्थापन गर्नेे योजना सफल हुन्छ वा हुँदैन । त्यो हेर्न बाँकी छ ।