close

चरन र खर्कमा युगौंदेखि छल्किरहेछ ग्वाला मुस्कान

चरन र खर्कमा युगौंदेखि छल्किरहेछ ग्वाला मुस्कान

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- वरिपरि गोठैगोठको छरछिमेक । चारैतिर हरियाली तथा मडारिएको कुहिरो । चरीको चिरबिर आवाज, गोठालाको सुरिलो बाँसुरीको धुन । गाईभैंसी, बाख्रा र घोडा-खच्चर चरनमा सराबरी । एउटा छुट्टै समाज, पृथक संस्कार । 


हजारौं वर्षअघि आदिमकालबाट कृषि समाजमा प्रवेश गरेसँगै मानिसले यसरी नै पशु चौपाया घुमाउने गरेको लोकोक्ति पाइन्छ । यहाँका स्थानीय मौसमअनुसार पशु चौपायालाई लेकबेँसी गराउँछन् र जहाँ चरिचरण धेरै छ, त्यही पुगेर वस्तुभाउ चराउँछन् । 


लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको जनजीवन सकसभित्र हर्षभावानुभूति गरी यसरी नै चलिरहेको छ । सयौँ वर्षदेखिको यो जीवनशैली अझै कति वर्षसम्म रहन्छ भन्न सकिँदैन । तर, अहिले लेकबेँसी गरी कष्टकरसाथ चलिरहेकै छ ।

 

पशु चौपायालाई मौसमीअनुसार घाँस खुवाउने र खेतीपातीका लागि मल बनाउन गोठालाले लेक-बेँसी गराइरहेका हुन्छन् । कतिपय जिल्लामा रासायनिक मलले माटो नै काम नलाग्ने भइसकेको छ । यही रासायनिक मल नपाएर कतिपय ठाउँमा खेतीपाती नै गर्न छाडिएको छ । पछिल्लो समय बढ्दो विषादीको प्रयोगले कृषि उत्पादन प्रयोग गर्न पनि डरलाग्दो भइसकेको छ ।

 

देशले नचिनेको हिमाली जिल्ला रुकुम पूर्वमा भने न रासायनिक मल खोज्ने झन्झट, न त विषादीकै त्रास । बरु, किसान आफैंले उत्पादन गरेको प्रांगारिक मल प्रयोग गरेर वर्षाैदेखि उनीहरूले खेतीपाती गरिरहेका छन् । हिमाली क्षेत्र जडीबुटीको खानी मानिन्छ । त्यही जडीबुटीको घाँस खाएका पशु चौपायाको गोबर र पिसाबबाट बन्ने मल नै यहाँको खेतीपातीको आधार हो ।

 

अध्ययन गर्न लायक 

रुकुम पूर्वका अधिकांश बासिन्दाले मौसमी बसोबास गरेर खेतीपाती गर्दै आएका छन् । वर्षायाममा बस्न उनीहरूले लेकमै अस्थायी आवास बनाएका छन् । स्कुले विद्यार्थीका लागि यहाँको जीवनशैली साँच्चिकै अध्ययन गर्न लायक छ । खरले चिटिक्क पारेर छाइएका गोठमा बास बिताउँछन्, गोठाला । 


रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर २ का गाबाङ, काँक्री गाउँका लेक सानो राम्ली र वडा नम्बर ३ क्याङ्सी, झुम्लाबाङ गाउँका लेक ठूलो राम्लीलगायत यो क्षेत्रका प्रायः गाउँलेले आ–आफ्नो पायक पर्ने ठाउँमा लेकाली गोठ बनाएका हुन्छन्, जहाँ सानोतिनो खेतीपाती पनि गरिन्छ ।


भूमे पालिकाका लेकमा मात्र नभई अचेल सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा पनि गोठाला लेक र बुकी पाटनमा छपक्कै भरिएका छन् । लेकाली क्षेत्रमा खेतीपाती भने राम्रो उत्पादन हुँदैन । यहाँ जौ उत्पादन हुने गर्छ तर जौ पाक्न भने एक वर्ष नै कुर्नुपर्छ । त्यसैले आलु उत्पादन गर्ने गरेका छन् । गोठालो भदौको अन्तिमसम्म लेक छाडिसक्छन् ।

 

पहिले–पहिले गोठालाले भदौ अन्तिमतिर लेक छाड्ने बेला जौ छरेर जाने र अर्काे वर्षको असारमा फर्केपछि काट्ने गरेको भूमे वडा नम्बर २ गाबाङका ५२ वर्षीय गणबहादुर बुढा मगरले सुनाए । 


त्यतिबेला जौ प्रजातिको सिङ्मा र गहुँ प्रजातिको जमेर छर्ने गरेको उनले सम्झे । अहिले भने आलु खेती गर्न थालिएपछि लेक विस्तारै आलु खेतीमै बनेका छन् । ‘त्यस समय आलुको नामोनिशानै थिएन’, विगत सम्झँदै बुढाले भने, ‘आलु भित्रिएपछि उक्त लेकमा मात्र उत्पादन हुने सिङ्मा र जमेर विस्थापित भएको हो ।’

 

अहिले यी लेकमा आलु र मकै लगाउने गरिएको छ भने विस्तारै जीवनशैली पनि परिवर्तन हुँदै गएको छ । पहिला खेतीपाती गरेका जग्गा पनि अहिले बाँझै छन् । युवा पुस्ताले खेतपाती र लेकबेँसी गर्न छाडेपछि पुरानो पुस्ताले मात्रै यो पेसा धानेको छ ।

 

ग्वाला मुखिया समाज भएपछि अगुवा चाहियो नै । त्यसै पनि हरेक समाजमा अगुवा तोक्ने र उसकै नेतृत्वमा मिलेर बस्ने आदिवासी जनजातिको विशेषता हो । खाम मगर भाषीको बसोबास रहेको यो ठाउँमा गोठालाको पनि आफ्नै मुखिया तोकिएको हुन्छ । 


गोठालालाई स्थानीय भाषामा ‘ग्वाला’ भनिन्छ । लेकमा गोठ लैजाने हरेक गाउँका बासिन्दाले आ–आफ्नो ग्वाला मुखिया अर्थात् प्रमुख तोक्छन् । मुखिया, बैदार तथा तैबिल पद दिइएको हुन्छ । उनीहरूकै नेतृत्वमा बाह्रैमास लागू हुने गरी नीति नियम बनाएर परिचालित हुने गर्छन् । पदका लागि वर्षपिच्छे फेरिरहनुपर्छ तर समय सन्दर्भअनुसार पनि फेरबदल हुने गर्छन् ।


धेरै समय बसोबास गर्ने तथा मूल घरबास भएको ठाउँलाई मूल घर तथा लेकको अस्थायी बसोबासलाई गोठ भनिन्छ । अरू बेला जता पुगे पनि चाडपर्वको बेलामा भने पशु चौपायासहित सबै मूल घरमै फर्कन्छन् । मूल बस्तीदेखि माथिका ठाउँलाई लेक र तलका ठाउँलाई बेँसीका रूपमा चिनिन्छ ।