close

पहिरो प्रभावित परिवारलाई नगरपालिकाले दियो जग्गा  

पहिरो प्रभावित परिवारलाई नगरपालिकाले दियो जग्गा  

Trulli
ADVERTISEMENT

स्याङ्जा- जिल्लाका पहिरो प्रभावित ६ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि स्याङ्जाको वालिङ नगरपालिका ८ दमैडाँडाका ६ घर परिवारलाई घर निर्माणका लागि जग्गा हस्तान्तरण गरिएको हो ।

 

पहिलेदेखि बस्दै आएको घर बस्तीमा गतवर्षको वर्षायाममा जमिन भास्सिएका र धाँजा फाटेका परिवारलाई प्राविधिकको राय सुझाव अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएकाले जग्गाको खोजी गरेसँगै जग्गा प्राप्ति भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

 

‘उहाँहरु बस्दै आउनुभएको बस्ती नजिकै स्थानीय दलबहादुर बस्नेतको नाममा रहेको जग्गा एकमुष्ट खरिद गरी जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरेका छौं’, नगर प्रमुख खाँणले भने, ‘जग्गा प्राप्तिसँगै अब केही दिनमै आवास निर्माणको प्रक्रिया थाल्छौं र सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्छौँ ।’

 

जग्गा प्राप्तिदेखि आवास निर्माणका लागि केन्द्र, प्रदेश र वालिङ नगरपालिकाको संयुक्त लागत साझेदारी रहने नगर प्रमुख खाँणले बताए ।

 

मनसुनजन्य विपदका कारण वालिङ नगरपालिकाका विभिन्न वडाका बस्तीहरु विस्थापित भएकाले सुरक्षित बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी जारी रहेको नगर प्रमुख खाँणको भनाइ छ । 


गतवर्षसम्मको मनसुनजन्य विपदका कारण नगरपालिकाभित्र ४० भन्दा बढी परिवार प्रभावित छन् । ६ वटा परिवारलाई प्रतिघर करिब ५ आनाका दरले जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरिएको वडा नं ८ का वडा अध्यक्ष कमलप्रसाद सुवेदीको भनाइ छ । वडा अध्यक्ष सुवेदीका अनुसार जग्गा खरिदलगायतका सवै प्रकृया पुरा गर्दा १४ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । 

 

वालिङ ८ दमैडाँडाका टीकामाया दर्जी डोलमाया दर्जी, कृष्णबहादुर दर्जी, सूर्यबहादुर दर्जी, प्रदीप दर्जी र हरिबहादुर नेपालीलाई जग्गा हस्तान्तरण गरेको जनाएको छ । गतवर्ष वर्षायामका समयमा ६ घर परिवारका ३५ जनालाई उक्त बस्तीलाई नजिकैको सामुदायिक विद्यालयमा राखिएको थियो ।