close

छोरी बिमा कार्यक्रमले ल्याएको उत्साह

छोरी बिमा कार्यक्रमले ल्याएको उत्साह

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ की उर्मिला पुनको खातामा ५ हजार रुपैयाँ जम्मा भएको छ । एक वर्ष पनि उमेर नपुगेकी उनको बैंक खातामा नगद जम्मा भइरहेको हो । 


सिस्ने वडा नम्बर २ की इभान्जली बुढाथोकीको पनि सदरमुकाममा रहेको एक बैंकमा खाता खोलिएको छ । उनको उमेर पनि एक वर्ष पुगेको छैन । उनको खातामा पनि पाँच हजार रुपैयाँ जम्मा भइसकेको छ । 

 

सिस्ने वडा नम्बर ५ की सहाना थापाका अभिभावकले पनि छोरीको बैंक खाता खोलिदिएका छन् । सहानाको उक्त खातामा पनि हाल ५ हजार रुपैयाँ जम्मा भएको छ । छोरी जन्मेपछि जन्म दर्ता गरेर उनीहरूका अभिभावकले बैंक खाता खोलिदिएका हुन् ।


गत आर्थिक वर्षबाट सिस्ने गाउँपालिकाले सुरु गरेको छोरी बिमा कार्यक्रमले गएको आर्थिक वर्षमा मात्र सिस्नेका ८ वडाका एक वर्ष उमेर नपुगेका ८१ छोरीको छोरी बिमा खाता खोली नगद गाउँपालिकाले जम्मा गरिदिएको हो । 

 

गत आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले ५ हजार रुपैयाँका दरले ८१ जना छोरीका लागि ४ लाख ५ हजार रुपैयाँ बैंकमा जम्मा गरिदिएको छ । छोरी बिमा कार्यक्रममार्फत गाउँपालिकाले गत वर्षदेखि यो अभियान चलाएको छ । पहिलो आर्थिक वर्षमा गाउँपालिकामा जन्मेका ८१ छोरीको बैंक खाता खोलेर नगद जम्मा गरिएको हो । 

 

छोरीको सुरक्षा, शिक्षा र परिपक्वताका लागि गाउँपालिकाले छोरी बिमा कार्यक्रम सुरु गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए । १ साउन २०७७ पछि जन्मेका निश्चित मापदण्ड पूरा गरेका छोरीको खाता खोलिएको र नगद जम्मा गरिदिएको उनले जानकारी दिए ।


उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । ‘जति निवेदन आउँछन्, ती सबैलाई पुग्ने गरी बजेटको व्यवस्था गरिएको छ’, दाहालले भने, ‘बजेटका कारण कसैको खाता नखुल्ने वा खाता रित्तो हुने अवस्था हुँदैन ।’

 

कार्यक्रमका लागि गाउँपालिकाले विभिन्न मापदण्ड तोकेको छ । छोरी जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गर्नुपर्ने, जन्मनुअघि चार पटक गर्भ जाँच, छोरी जन्माउन स्वास्थ्य संस्था जानुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।


कार्यक्रम सान्दर्भिक भएको सिस्ने वडा नम्बर ८ की उर्मिलाका बुबा सुवासले सुनाए । ‘यो रकम काफी छ भन्ने होइन तर गाउँपालिकाले एउटा प्रणाली विकास गर्न खोजेको देखियो’, उनले भने, ‘त्यसमा मात्रै छोरीचेलीलाई हिँडाउन सके उनीहरूको उज्ज्वल भविष्य हुनुका साथै सुरक्षा र परिपक्वता अवश्य बढ्नेछ ।’

 

बैंकमा जम्मा भएको उक्त रकम छोरी २० वर्ष उमेर नपुगी निकाल्न मिल्दैन र त्यो उमेरसम्म उसको बिहे पनि गरिदिन पाइँदैन ।  बढ्दो बाल विवाह न्यूनीकरण, बाल विवाहबाट हुने महिला हिंसा अन्त्य र बीचैमा पढाइ छाड्ने क्रम रोकियोस् भनेर यस्तो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । ‘रकम थोरै होला’, उनले भनिन्, ‘तर, नीतिगत रूपमा छोरी बिमा कार्यक्रम महत्त्वपूर्ण छ ।’