close

छायानाथ धामको तीर्थयात्रा सुरु 

छायानाथ धामको तीर्थयात्रा सुरु 

Trulli
ADVERTISEMENT

मुगु- विश्वका चार धाममध्ये छायानाथ धामको तीर्थयात्रा आइतबारबाट सुरु भएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर २ चैनगाउँमा रहेको छायानाथ मन्दिरमा भगवान् शिवजीको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित छायानाथ लगेपछि तीर्थयात्रा सुरु भएको हो ।
 
मुगुमकामरोङ गाउँपालिका डोल्फुमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा सुरु भएको यहाँका पुजारीले बताए । हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन प्रसिद्ध देवता छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र सुरु भएको मानिन्छ ।


आइतबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनका लागि मुगुसहित कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोटसँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटीलगायतबाट तीर्थालु दर्शन गर्न छायानाथधाम पुग्ने गरेका छन् । 


जनैपूर्णिमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा वरदान माग्न १५ जिल्लाबाट तीर्थालु आउने गरेको छायानाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए । 


विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको ऐतिहासिक किंवदन्ती छ ।


छायानाथ मन्दिरमा जाने तीर्थालुले श्राद्ध, होम, व्रतबन्ध र आफूले चिताएको वरदान मागे प्राप्त हुने जनविश्वास छ । आइतबार प्रस्थान गरेको टोली अबको ९ दिनपछि पूर्णिमाका दिन फर्किनेछ ।