close

नगरपालिकाले समयमै जस्तापाता नदिँदा भत्कियो घर

नगरपालिकाले समयमै जस्तापाता नदिँदा भत्कियो घर

Trulli
ADVERTISEMENT

अर्घाखाँची- ‘तपाईंको घर भत्किन लागेछ । नगरपालिकाले टिन दिन्छ । सानो-सानो नयाँ घर चिटिक्क बनाउनुस्’ जनप्रतिनिधिबाट आश्वासन पाएपछि सन्धिखर्क नगरपालिका वडा नम्बर १ का स्थानीय सेतेकुमाल वडा नम्बर १ को वडा कार्यालयमा नागरिकता लिएर फारम भर्न पुगे ।


वडा कार्यालयले सिफारिस गरेर नगरपालिकामा पठाउने आश्वासन पाएपछि रंगीन जस्तापाता लगाई घर बनाउने सपना बुनेर घर फर्किए । नगरपालिकाबाट प्राविधिकसहित टोली पुगेर घरको नापजाँच गरी घर छाउन भाटा ठोकेर जस्तापाता लिन नगरपालिकामा आउनू भनेर उक्त टोली हिँडेको सेते कुमालले बताए ।


उनले भने, ‘मैले उहाँहरू गएपछि घर चुहिने समस्याले राखेका त्रिपाल र प्लास्टिक हटाई ढुंगाको छानो फालेँ । छरछिमेकको सहयोगमा काठ जोडजाड गरी जस्तापाता छाउने बनाएँ । नगरपालिकामा जाँदा जस्तापाता केही दिनपछि आउँछ भनियो । फोन गरेर बोलाउँछौँ भने । अर्को दिन कोरोनाले नगरपालिका बन्द भयो । जस्तापाता लिन आउन भनी फोन आएन । नगरपालिका खुलेको अर्को दिन जाँदा जस्तापाता सकियो भन्ने जवाफ पाएँ ।’


जस्तापाता पाउने आशमा बसेका कुमालको घर चैतमा आएको पानीले एक पाखो भत्कायो । लगत्तै स्थानीय घर भत्किन लाग्यो, तत्काल जस्तापाता उपल्बध गराउनुप¥यो भनेर नगरपालिकामा पुगे पनि त्यहाँ जस्तापाता थिएन । आएपछि पाउने आश्वासन बोकेर फर्किएको स्थानीय सुनिता श्रेष्ठले बताइन् ।


‘उतिबेला जस्तापाता पाउनुहुन्न भनेर जनप्रतिनिधिले नभनेको भए हामीले त्रिपाल टनेल राखेरै भए पनि जोगाउने थियाैँ । ढुंगाको छानो हटाएर जस्तापाता लिन आउनुस् भनेर जनप्रतिनिधि गए । तर, नगरपालिका जाँदा जस्तापाता सकियो भनेर फर्काइयो ।’


यस विषयमा पटक–पटक नगरप्रमुख र उपप्रमुखलाई भेटेर समस्या सुनाउँदा हामीलाई थाहा छ, जस्तापाता आएपछि पाउनुहुन्छ भन्ने जवाफ दिएको उनले सुनाइन् ।

 

कुमालको घर वर्षात्को समय भत्किएर पूर्ण रूपमा क्षति भयो । अहिले ६६ वर्षीय कुमाल र उनका छोरा छिमेकीको घरमा बसेका छन् । बिहान–बेलुका मजदुरी गरेर खाने उनको परिवार अहिले ओत कसरी लाग्ने भन्ने चिन्ताले पिरोलिएको छ ।


भत्किएको घर देखाउँदै कुमालले भने, ‘टिन दिँदैनौँ भनेका भए त्यही चुहिने घरमा पानी आउँदा बाल्टी कसौडी थापेर पानी फालेर बसेको थिएँ । त्रिपाल टनेल राखेर गुजारा चल्थ्यो । हरियो टिन लगाउने सपनाले थातथलो नै नासियो ।’ 


नगरपालिकाले नगरभित्रका विपन्न नागरिकका खरका छाना हटाउन १ करोड २५ लाख रुपैयाँमा जस्तापाता खरिद गरेको थियो । सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा खरका छाना भएका घर २ वटा मात्र छन् । ती २ वटा घरलाई त्यस क्षेत्रका समाजसेवी तथा स्थानीयले सिफारिस गरी प्राथमिकता दिन वडा कार्यालयमा नाम टिपाएका थिए ।


सेते कुमालसँगै प्रेमा श्रेष्ठ पनि टिन पाउने आशाले आफ्नो घरको पुरानो छाना फालेर जस्तापाता लिन नगरपालिका जाँदा रित्तो हात फर्कनु परेको श्रेष्ठले बताइन् ।


उनले भनिन्, ‘टिन पाउने लिस्टमा तपार्इंको नाम परेछ भनेर सुवास बाबुले भन्नुभयो । टिनका लागि चिट दिने ठाउँमा गएँ । उहाँहरूले उप–प्रमुखकहाँ जानुस् भनेर पठाए । उपप्रमुखलाई भेटेँ । उहाँले फोटो लिएर आउनू, यो फाइल यही राखिदिन्छौँ भन्नुभयो । अर्को दिनबाट नगरपालिका बन्द भयो । खुलेपछि जाँदा टिन सकियो भन्नुभयो । अब घर भत्किने अवस्थामा छ ।’
 
वडा कार्यालयले नगरपालिकालाई जस्तापाता दिन सिफारिस गरे पनि कार्यान्वयन गर्ने निकाय नगरपालिकाले पहुँचको आधारमा टिन उपलब्ध गराउँदा वास्तविक व्यक्तिले राहत नपाएको वडा नम्बर १ का वडा सदस्य लक्ष्मण पराजुलीले बताए ।

 

‘सेते कुमालको म आफैँ कार्यवाहक वडाध्यक्ष भएको समय सिफारिस गरेर पठाएको हुँ । पछिल्लो समय कार्यान्वयन गर्ने निकाय नगरपालिका प्रमुख र उप–प्रमुखले वडाले गरेको सिफारिस र प्राथमिकताभन्दा आफू नजिक र पहुँच भएकालाई वितरण गर्नुभएको छ । यसले वास्तविक पीडित सेतेकुमालहरूले सास्ती खेप्नुपरेको छ ।’ 


नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत १ सय ७३ घर परिवारलाई ३ आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी थप कार्यक्रमसमेत आएको छ । प्रत्येक परिवारलाई प्रतिघर ५० हजार रुपैयाँका दरले रकम पाउने गरी १ सय ३० घरपरिवार नगरपालिकाले छनोट गरेको छ । 


तर, उक्त लिस्टमा सेते कुमालको नाम अट्न सकेको छैन । जस्तापाताले घर छाएका व्यक्ति नै उक्त लाभग्राहीको सूचीमा परी पहिलो किस्ताबापतको ३० हजार रुपैयाँसमेत बुझेका छन् ।


नगरपालिकामा जो पहिला आयो उसैले जस्तापाता लगेको नगर उपप्रमुख ठाकुरकुमार विकले बताए । ‘नगरपालिकामा धेरै समस्या छन् । फस्ट कम फस्ट सर्भिस प्राविधिकले नापजाँच गरे होलान् । उहाँहरू नगरपालिकामा आउनुभएको होला । हामीसँग नभएपछि प्राविधिकले गोजीबाट दिने कुरा भएन । उहाँहरूको घर निर्माण कसरी गर्न सकिन्छ भन्नेमा हामी चिन्तित छौँ । नगरपालिकाको विपद् व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार पूर्ण रूपमा घर भत्किएकाले १५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।’


तोकिएको रकम रकम उनीहरूले पाउने दाबी उनले गरे । सुरक्षित नागरिक आवासको १ सय ३० जनाको लिस्टमा सेते कुमालको नाम नपर्नुमा पछिल्लो समय पठाएको भएर हुन सक्ने उनको अनुमान छ । नगरपालिकाको वडा नम्बर २ का वादी र दलित समुदायका गरी १३ वटा पक्की घर प्रदेश सरकारको समन्वयमा निर्माण गरेर हस्तान्तरण भइसकेको विकले जानकारी दिए ।