close

निषेधाज्ञाको समय अपराधको ग्राफ ह्वात्तै बढ्यो : आत्महत्या मात्रै ३९ प्रतिशत 

निषेधाज्ञाको समय अपराधको ग्राफ ह्वात्तै बढ्यो : आत्महत्या मात्रै ३९ प्रतिशत 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगामा निषेधाज्ञाको समय भएका अपराधका घटनामा आत्महत्या सबैभन्दा बढी छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले २६ वैशाख २०७८ देखि लगाएको निषेधाज्ञा जारी छ । सक्रिय कोरोना संक्रमितको संख्या २ सय बढी भएकाले निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समय पनि अपराधका घटना भने घटेका छैनन् । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाको तथ्यांकले निषेधाज्ञामा सबैभन्दा बढी आत्महत्या भएको देखिएको छ । 


१५ वैशाखदेखि साउन मसान्तसम्मको अभिलेखअनुसार विभिन्न १५ प्रकारका ५१ अपराधका घटना प्रहरीमा अभिलेख छन् । तीमध्ये ३९.२१ प्रतिशत अर्थात् २० घटना आत्महत्याका मात्रै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए । उनले भने, ‘जिल्लामा आत्महत्या अत्यधिक छ । एक सातामा लगातार ४ दिनसम्म दैनिक एक जनाले आत्महत्या गरेको पाइयो ।’
 

यसरी आत्महत्या बढ्नुको कारण काम नहुँदा फुर्सदिलो हुने, बेरोजगारीले आर्थिक समस्या पर्ने, पारिवारिक कलह, युवा–युवतीमा मायाप्रेम र यौनसम्बन्धलगायत कारणले आत्महत्या बढिरहेको प्रहरीको निष्कर्ष छ । आत्महत्याबारे जिल्ला प्रशासन कार्यालयले विस्तृत अध्ययन गरेर प्रतिवेदनसमेत तयार गरेको छ । उक्त प्रतिवेदनमा आर्थिक तथा सामाजिक समस्या, एक्लोपना, पारिवारिक कलह, युवा-युवतीको मायाप्रेममा धोका र यौनसम्बन्धलगायत कारणलाई औँल्याइएको छ ।


यसरी प्रतिवेदनै आए पनि त्यसबारे स्थानीय तहले चासो नदिएको जिल्ला पैरवी सञ्जालका बोधनारायण श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय सरकार नागरिकको मानसिक स्वास्थ्यका समस्यामा गम्भीर देखिएन । स्वास्थ्योपचार र मनोपरामर्शका लागि कुनै कार्यक्रम ल्याएनन् ।’ जिल्लामा दैनिक बढिरहेको आत्महत्या रोकथाम गर्न मनोमरामर्श दिने र वडा तहमै मनोपरामर्शदाता राख्न सरोकारवालाले माग गरेका छन् । यी विषयमा स्थानीय सकारका प्रमुखले प्रतिबद्धता जनाए पनि नीति तथा कार्यक्रममा समेटेका छैनन् ।

 

विभिन्न पारिवारिक समस्याले हुने मानसिक तनावका कारण पनि आत्महत्या बढी भएको भन्ने निचोड निकालिए पनि त्यस विषयमा स्थानीय सरकारले नीति तथा कार्यक्रममै समेटेर नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि काम गर्नुपर्ने गैरसरकारी संस्था महासंघका जिल्ला सचिव लीलाबहादुर सुनुवार बताउँछन् ।