close

रुकुम पूर्वमा २० वर्ष नकट्दै झानाकुटी गरिँदा निम्तिएको पिरलो 

रुकुम पूर्वमा २० वर्ष नकट्दै झानाकुटी गरिँदा निम्तिएको पिरलो 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वमा गत आर्थिक वर्षमा १६६ किशोरी २० वर्ष नपुग्दै गर्भवती बनेका छन् । जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा रुकुम पूर्वमा १६६ किशोरी २० वर्ष नपुग्दै गर्भवती बनेका हुन् । 

 

रुकुम पूर्वमा हालसम्म बालविवाहको यकिन तथ्यांक नभए पनि २० वर्ष नकट्दै गर्भजाँच गराउने किशोरीको संख्या ठूलो छ । शिक्षा, चेतना अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ । सोही कारण सानै उमेरमा आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।

 

पुथाउत्तरगंगा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १९ जना २० वर्ष मुनिका किशोरीले गर्भजाँच गराएका छन् । गाउँबस्तीमा धेरै बालविवाह हुने गरे पनि स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउनेको संख्या कम रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक समीर गिरीले जानकारी दिए । 

 

भूमे गाउँपालिकामा गत आर्थिक वर्षमा २० वर्षमुनिका ६४ किशोरी पहिलो पटक गर्भजाँच गर्न आएको स्वास्थ्य संयोजक उपेन्द्र यादवले बताए । यस्तै, सिस्ने गाउँपालिकामा ८३ जना २० वर्षमुनिका किशोरीले गर्भजाँच गर्न आएको तथ्यांक रहेको गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक पुष्पा ओलीले बताइन् ।

 

बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि त्यसको प्रभावकारिता देखिएको छैन । रुकुम पूर्वमा छिटो विवाह गरेर गर्भवती हुनेमा १६ देखि २० वर्षमुनिका किशोरी रहेका छन् । नेपालमा २० वर्षमुनिका किशोर–किशोरी र बालबालिकाको विवाह कानुनी रूपमा वर्जित छ ।  तर, जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती भएका विवाहित किशोरी र बालिकाको संख्या डरलाग्दो छ । 

 

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ मा २० वर्ष उमेर नपुगी बिहे गर्नु, गराउनुलाई बालविवाहको अपराध मानिएको छ । यसरी गरिएको बालविवाह बदर हुने, बालविवाह गर्ने, गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना अथवा दुवै सजाय हुने व्यवस्था छ । 

 

किशोरी, किशोर दुवै २० वर्ष नपुगी विवाह गर्न नपाउने कानुनी प्रावधान रहे पनि रुकुम पूर्वमा कानुनको पालना र कार्यान्वयनको पाटो फितलो देखिएको छ । सोही कारण भविष्यमा उक्त घरपरिवारले शिक्षा, स्वास्थ्य, रोजगारलगायत क्षेत्रमा समस्या झेल्नुपरिरहेको छ । छिटो बिहेले किशोरी शारीरिक, मानसिक जोखिममा परिरहेका छन् ।