close

बडिमालिकाका जनप्रतिनिधिले १ वर्षमै स्वाहा पारे १ करोड 

बडिमालिकाका जनप्रतिनिधिले १ वर्षमै स्वाहा पारे १ करोड 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा १ करोड रुपैयाँ बढीको सुविधा लिएको देखिएको छ । बडिमालिकाका जनप्रतिनिधिले विभिन्न सेवा–सुविधाबापत १ करोड १ लाख १७ हजार ५ सय २९ रुपैयाँ लिएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

 

सेवा–सुविधा लिनेमा सबैभन्दा बढी नगर उपप्रमुख कविता विष्ट रहेकी छन् । बडिमालिका नगरप्रमुख पदम बडुवालले बैठक भत्ताबापत १२ हजार, टेलिफोन सेवा ८४ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण १ लाख २० हजार, अतिथि सत्कार १ लाख ३२ हजार, खानेपानी, बिजुली तथा सरसफाइबापत ४८ हजार र चाडपर्व खर्च २७ हजार ५ सय रुपैयाँ लिएको प्रतिवेदनमा औँल्याएको छ ।


नगरप्रमुख बडुवालले यातायात खर्च भने लिएका छैनन् । त्यसैगरी उपप्रमुख विष्टको नाममा बैठक भत्ता १२ हजार, यातायात खर्च १ लाख २० हजार, टेलिफोन, मोबाइल ७२ हजार, पुस्तक, पत्रपत्रिका, इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण १ लाख ८ हजार, अतिथि सत्कार १ लाख २० हजार, खानेपानी, बिजुली तथा सरसफाइ ४२ हजार र चाडपर्व खर्च २५ हजार गरी ५ लाख ४७ हजार रुपैयाँ लिएकी छन् ।

 

वडाध्यक्षहरूमध्ये प्रतिवडाअध्यक्षले बैठक भत्ताबापत ६ हजार २ सय रुपैयाँ लिएका छन् । यातायात खर्च प्रतिव्यक्ति ३० हजार लिएको प्रतिवेदनमा उल्लेख छ ।
टेलिफोन, मोबाइल खर्चबापत प्रतिव्यक्ति ४८ हजार, पुस्तक, पत्रिका, इन्टरनेटबापत १ वडाध्यक्षले ४८ हजार, समन्वय तथा सहजीकरण ७८ हजार, अतिथि सत्कारबापत ९६ हजार, खानेपानी, बिजुली, सरसफाइबापत ३० हजार र चाडवाड खर्च प्रतिव्यक्ति १८ हजारका दर ३१ लाख ३२ हजार रुपैयाँ लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

 

कार्यपालिकाका ७ सदस्यले बैठक भत्ता प्रतिव्यक्ति ७ हजार ८ सय ५८ रुपैयाँ लिएका छन । यातायात खर्च प्रतिव्यक्ति ३० हजार, टेलिफोन, मोबाइलमा प्रतिव्यक्ति ४२ हजार, पुस्तक, पत्रपत्रिका र इन्टरनेट खर्च प्रतिव्यक्ति ४२ हजार, समन्वय तथा सहजीकरण ७२ हजार, खानेपानी, बिजुली र सरसफाइमा ५२ हजार ५ सय र चाडपर्व खर्चबापत प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँ लिएको तथ्यांक छ ।

कार्यपालिका सदस्यहरूको जम्मा खर्च २३ लाख ५२ हजार रुपैयाँ छ । कार्यपालिका सदस्यले अतिथि सत्कार खर्च लिएका छैनन् । नगरसभाका ३० सदस्यले पनि ३४ लाख ६३ हजार २९ रुपैयाँ बुझेका छन् । प्रतिसदस्य टेलिफोन, मोबाइल खर्चबापत प्रतिव्यक्ति २३ हजार ६ सय रुपैयाँ लिएका हुन् । 

 

त्यस्तै, पुस्तक, पत्रिका, इन्टरनेट खर्च २९ हजार ५ सय, समन्वय तथा सहजीकरण ४७ हजार २ सय, खानेपानी, बिजुली र सरसफाइमा ११ हजार ८ सय र चाडपर्व खर्चबापत ३ हजार ३ सय ३५ रुपैयाँ लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।