काठमाडौँमा घटस्थापनाको दिनदेखि दशमीसम्म बाजागाजासहित नवदुर्गा भवानीका अनेक शक्तिपीठमा नौरथा जाने परम्परा छ । यसरी नौरथा जाने प्रक्रिया शंखमूलबाट सुरु भएर दशमीको दिन गुह्येश्वरीमा पुगेर टुंगिन्छ । शंखमूल, लुति अजिमा (इन्द्रायणी), गोकर्ण, कालमोचन, पचली, मनमैजु, पशुपति आर्यघाट, टेकु दोभान, लख तीर्थ र गुह्येश्वरी नौरथा जाने मूल शक्तिपीठ हुन् ।
घटस्थापना अथवा नेवारीमा नलस्वनेगु दिनदेखि काठमाडौँमा नवरथ जाने चलन प्राचीनकालदेखि चल्दै आएको छ । झिसमिसेमा नै साथीभाइ जम्मा भएर वृद्ध तथा युवा बाजागाजासहित स्वतः स्फूर्त नवरथ जान उर्लिने चलन अझै पनि छ । नवरथलाई व्यवस्थित गर्न दशैँ (मोहनी) आउनु निकैअघिदेखि विभिन्न संघसंस्था व्यस्त हुने गर्दछन् । ‘नवरथा जाँदा पीठमा पुग्नुअघि नजिकैको नदीमा स्नान गरेर वा मुख धोएर मात्र प्रवेश गर्नुपर्छ,’ चःमतिका श्यामकृष्ण श्रेष्ठ भन्छन्, ‘२०२६ सालमै नवरथ चलाउन झन्डै एक लाख रुपैयाँ खर्च हुन्थ्यो । अहिले त चार/पाँच लाख भए नि पुग्दैन ।’
शक्तिपीठ भनेर प्रचार गरिएका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, संकटा, शोवाभगवती, नरदेवी, रक्तकाली नवरथका मूल पीठ होइनन् । यी स्थान दुर्गा भवानीका शक्तिपीठ भए पनि दशैँभरि नवरात्रमा नवरथ जाने पीठमा भने पर्दैनन् ।
नवरथ जाने प्रचलन नेवार समुदायको मौलिक संस्कृतिमध्ये एक हो । उल्लेखित नौ पीठमा विभिन्न देवी (अजिमा)हरूको बास भएको र तिनै अजिमा वास्तविक नवरथका पीठ भएको श्यामकृष्ण बताउँछन् ।
शंखमूलमा बाग्मती नदीनजिकै चामुण्डा अजिमाको पीठ रहेको छ । लुति अजिमा (इन्द्रायणी), शोवाभगवतीस्थित विष्णुमति वारि रहेकी देवीको अर्को पीठ हो । त्यस्तै, कालमोचन थापाथलीमा डोला अजिमाको पीठ रहेको छ । यो अजिमा हालको थापाथलीस्थित नेपाल राष्ट्र बैंकसँगै डाँडामा रहेको छ । पचलीमा रहेको पीठमा प्याथो अजिमा वा नई अजिमा रहेकी छिन् । टोखा, मनमैजुकी इन्द्रायणी, पशुपति आर्यघाटस्थित बसला माई, कंगेश्वरनजिकै स्थित रामघाट वा लखः तीर्थ । टेकु दोभानस्थित पीठ हाल महानगरपालिका वातावरण विभाग अघिल्तिर खाल्डोमा रहेको छ । गुह्येश्वरीमा अन्य दिन सूर्य उदाउनुअघि नै गौरीघाटमा स्नान गर्ने चलन भए पनि दशमीको दिन सूर्य उदाएपछि सूर्यघाटमा स्नान गरेर गुह्येश्वरीको दर्शन गर्ने परम्परा रहेको श्यामकृष्ण बताउँछन् ।