close

कर्णालीमा बाढीपहिरो : ८ को मृत्यु, ३ सय परिवारलाई अन्यत्र सारियो 

कर्णालीमा बाढीपहिरो : ८ को मृत्यु, ३ सय परिवारलाई अन्यत्र सारियो 

Trulli
ADVERTISEMENT

जुम्ला–लगातारको वर्षाले कर्णाली प्रदेशमा धनजनको ठूलो क्षति पुगेको छ भने सयौँ घरपरिवार विस्थापित भएका छन् । बाढीपहिरोका कारण ८ जनाको मृत्यु भएको छ । धानबाली, पशु चौपायामा समेत क्षति पुगेको छ ।


चार दिनको अवधिमा बाढीपहिरोका कारण ८ जनाको मृत्यु भएको कर्णाली प्रहरी प्रदेश कार्यालयले जनाएको छ । मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ खर्पेल गाउँका ६ जना, जुम्लामा १ र कालीकोटमा १ जना रहेका छन् । 


हुम्लामा भने एकै परिवारका ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ७० वर्षीय धनवीरे शाही, ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही छन् । पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । 


यस्तै, कालीकोटको महावै गाउँपालिका वडा नम्बर ७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अर्की छोरी ११ वर्षीया युनिषा अधिकारीको दाहिने खुट्टा च्यापिएको अवस्थामा प्रहरी र स्थानीयको सक्रियतामा सकुशल उद्दार गरिएको थियो । पहिरो खसेर घर भत्किँदा स्मृतिको मृत्यु भएको हो । 


प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार बाढीपहिरोबाट ४ वटा गाई, ३ वटा बाच्छा र १३० भेडाबाख्रा मरेका छन् । प्रहरीका अनुसार बाढीपहिरोबाट केही व्यक्ति घाइते भएका छन् । कालीकोट रास्कोट नगरपालिका वडा नम्बर ८ पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी १३ वर्षीया छोरी बाँचु न्यौपाने गोठबाट घर फर्कने क्रममा घर नजिकै पहिरोमा परी घाइते भएका छन् । श्रेष्ठका अनुसार नन्दु न्यौपानेको दुवै खुट्टामा चोट लागेपछि रास्कोट अस्पताल उपचार भइरहेको छ । 


यस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ ।  सुर्खेतको कुइनेबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदारसमेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए । 


शर्मालाई नदीले बगाएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी तातोपानीबाट ६ जनाको प्रहरी टोली उनको उद्दारका लागि खटिएको थियो । प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा शर्मा बगेको स्थानदेखि झन्डै चार किलोमिटर तल झ्याङझ्याङेमा फेला परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बाहिरी चोट नदेखिए पनि उनको उद्दार गरेर उपचारका लागि बाबियाचौर पठाइएको छ । 


प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका कारण जोखिममा रहेका ३ सय बढी घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम सम्पन्न भएको छ । कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ झालाका ५४ घरधुरी संख्या रहेको बस्तीका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ । कालीकोटको राम्नी बस्तीका साढे २ सय परिवारलाई स्थानान्तरण गरिएको छ ।


उनीहरूलाई राम्नि माध्यमिक विद्यालय र त्यहाँको एक स्वास्थ्य चौकीमा राखिएको छ । स्थानान्तरण गरिएका नागरिकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, नेपाल रेडक्रस र स्थानीय पालिकाहरूले आधारभूत सहयोग गरिरहेका छन् । दैलेखको रामाघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका वडा नम्बर १ मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी टोलीले स्थानीय वासिन्दाको सहयोगमा २०÷२५ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम गरिरहेको छ ।