close

ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास 

ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास 

Trulli
ADVERTISEMENT

रूपन्देही–बुटवल उपमहानगरको वडा नम्बर ५ मा निकास नभएका र नाली गन्हाएर हिँडडुल गर्न समेत धौ–धौ हुने टोललाई नयाँ बस्तीका रूपमा विकास गरिएको छ । घना बस्ती र सानो क्षेत्रफल रहेको वडाका निकास नभएका टोलमा निकास मार्ग निर्माण गरी मुहार फेरिएका छन् । 


यहाँका विभिन्न टोलका नालीको खुला क्षेत्रलाई व्यवस्थित गर्दै विभिन्न टोलमा बाइपास मोटरेबल मार्ग बनाइएको छ भने टोललाई पायक पर्ने ठाउँ पारेर ज्येष्ठ नागरिक मिलन केन्द्र, शीतलादेवी मन्दिर, स्वास्थ्य चौकी र सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणका क्रममा छन् ।  सोमबार नगर प्रमुख शिवराज सुवेदीले यही नमुना टोलमा ज्येष्ठ नागरिक मिलन केन्द्र तथा स्वास्थ्य चौकी र शीतलादेवी मन्दिरको एकसाथ शिलान्यास गरे । मोटरेबल सडकसँगै जोडिएको क्षेत्रमा टोलको केन्द्रमा पारेर ज्येष्ठ नागरिक मिलन केन्द्र र स्वास्थ्य चौकी शिलान्यास गरिएको हो ।

 

करिब २२ लाख रुपैयाँ बरारबरको लागतमा सार्वजनिक जग्गालाई संरक्षण गरेर उक्त मिलन केन्द्र तथा स्वास्थ्य चौकी बनाउन लागिएको हो ।  प्रमुख सुवेदीले समुदायको हित र दैनिक जीवनयापन सहज हुने गरी योजना साकार हुने क्रममा रहेको बताए । उनले बुटवलको व्यस्त बजार क्षेत्रलाई सफा, सुरक्षित र आकर्षक बनाउन विभिन्न योजना बनाइएको जानकारी दिए । 


सोही टोलमा यसअघि प्रमुख सुवेदीले नयाँ प्रविधिको मोटरेबल सडकको शिलान्यास गरेका थिए । उक्त सडक निर्माण पूरा भएको छ । विकास निर्माणमा भइरहेको उपभोक्ताको सक्रिय सहभागिताको प्रशंसा गर्दै प्रमुख सुवेदीले निगरानी गर्नसमेत आग्रह गरे । 


कार्यक्रममा उपप्रमुख तथा अनुगमन समितिका संयोजक गुमादेवी आचार्यले व्यस्त बजार क्षेत्रमा ज्येष्ठ नागरिक मिलन केन्द्र, स्वास्थ्य चौकी तथा समुदायको आस्थाअनुसारका धार्मिक संरचनाको विकास गरिएको बताइन् । फुटपाथको उचित प्रबन्ध मिलाउँदै पैदलयात्रीलाई सुबिस्ता दिने गरी सडक निर्माणमा उपमहानगरले जोड दिएको उनको धारणा छ ।


वडा नम्बर ५ को काठेपुलदेखि नेपालगञ्ज रोडमा जोड्ने गरी नालीमाथि करिब २ सय मिटर लामो नालीमा व्यवस्थित सडक निर्माण भएको छ । यो सडक यहाँका कैयन टोलका लागि निकास मार्ग हो । 


निकास नभएका र हिँडडुलमा गाह्रो हुँदै आएका अमर तिनाउ विकास टोल, हाटबजार जनशान्ति टोल तथा शौभाग्य नगर टोलमा नालीमाथि व्यवस्थित ढक्कन बनाएर मोटरेबल सडक बनाइएको वडाध्यक्ष तेजप्रसाद विश्वकर्माले बताए । 


यस्तै, नेपालगञ्ज रोडमा सार्वजनिक शौचालय निर्माण भएको छ भने राधाकृष्ण टोलमा गुजुल्टिएर रहेका तारलाई व्यवस्थित गर्ने र फोहोरमैला व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष विश्वकर्माको भनाइ छ । 

 

बुटवलको हाटबजार नजिकको जनशक्ति टोलबाट सुरु हुने यो मार्ग त्यहीँको न्यूरोडमा जोडिएर नेपालगञ्ज रोडसम्म पुगेको छ । स्थानीय १६ घरको उपभोक्ता समिति गठन गरेर जनसहभागितामा योजना अगाडि बढाइएको थियो । 


वडाध्यक्ष विश्वकर्माले व्यवस्त हाटबजार लाइनको बाइपास सडकका रूपमा यसलाई विकास गर्न लागिएको र टोलटोलमा रात्रिकालिन बजार सञ्चालन गर्ने योजना रहेको बताए ।  गोलपार्क, हाटबजार, अमरपथ क्षेत्रबाट नाली र ढल बगेर आउने, निकास नभएको टोललाई नमुना बजार टोल बनाउने गरी काम भइरहेको छ ।

 

सोही वडामा बन्न लागेको शीतलामाई मन्दिरलाई पनि धार्मिक आस्थाको केन्द्रका रूपमा निर्माण गर्न लागिएको र करिब ५ लाख रुपैयाँ बजेट विनियोजन भएको वडाका जनप्रतिनिधि यम बरालले जानकारी दिए । 


कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, वडाका जनप्रतिनिधि, टोलविकास संस्थाका अध्यक्ष कौशलराज गैरे, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष तथा उपभोक्ता समिति अध्यक्ष गौतम कालिराजलगायतले शुभकामना व्यक्त गरेका थिए ।