close

सप्तरीको महादेवामा औषधी खरिदमा २१ लाखको अनियमितता

सप्तरीको महादेवामा औषधी खरिदमा २१ लाखको अनियमितता

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको महादेवा गाउँपालिकामा २१ लाख रुपैयाँभन्दा बढीको औषधी नियमविपरीत खरिद गरिएको छ । गाउँपालिकाले सार्वजनिक खरिद नियमावली, २०७४ विपरीत लाखौँको औषधी खरिद गरेको खुलासा भएको हो ।

 

पालिकाले २१ लाख रुपैयाँ बढीको औषधी नियम मिचेर खरिद गरेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन, २०७८ मा उल्लेख छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १(क) बमोजिम २० लाख रुपैयाँसम्मको औषधीजन्य सामान उत्पादकले राष्ट्रिय स्तरको समाचारपत्रमा सूचना प्रकाशन गरी तोकिएको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ ।

 

तर, पालिकाले नियमावलीविपरीत २१ लाख ८० हजार २ सय ८३ रुपैयाँको औषधी खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले खरिद गरेको उक्त औषधी कुन कम्पनीबाट उत्पादन भएको र त्यसको जानकारी राष्ट्रिय पत्रपत्रिकामा प्रकाशनसमेत गरिएको छैन ।


आपूर्ति भएको औषधी डब्लुएचओ प्रमाणित हुनुपर्ने तथा औषधी उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषयविज्ञबाट मुचुल्का गराउनुपर्ने र औषधी बिक्रीको प्रमाणपत्र समावेश नगरेको उल्लेख छ । महादेवाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले औषधी खरिदमा केही त्रुटि भएको स्वीकारे ।