काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण शनिबार बिहान पशुपति मन्दिर गाई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।
गृहमन्त्री खाँणले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।
दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग गृहमन्त्री खाँणले भलाकुसारीसमेत गरी करिब डेढ घण्टा बिताएका थिए । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको बताए ।