close

किशोरीको सपनामा उडानको भरथेग

किशोरीको सपनामा उडानको भरथेग

Trulli
ADVERTISEMENT

कपिलवस्तु– विजयनगरकी कक्षा ६ मा अध्ययनरत अख्तरुन साह ‘ताप’ को पाठ पढिरहेकी थिइन् । ताप भनेको के हो ? यसले वातावरणमा के असर पार्छजस्ता विषयको ज्ञान पाउँदै छिन् । विज्ञान विषयबारे फुट्टी थाहा नभएकी साहले मदरसामा विज्ञान तथा वातावरण केही थाहा पाइनन् ।


मदरसामा विज्ञान र गणित विषय पढाइ हुन्न । सुरुदेखि नै मदरसामा पढेकी उनले अहिले सामुदायिक विद्यालयमा आएपछि गणित विज्ञान विषय देखेकी छिन् ।
उनको अरू विषयमा भन्दा गणित र विज्ञानमा ध्यान केन्द्रित छ । यी विषय छन् भन्ने सुने पनि अहिले पढ्न पाउँदा खुसी छिन् । 


आफ्ना दिदी तथा अन्य साथीहरूको अवस्था देख्दा साहलाई निकै चिन्ता थियो । न परिवारलाई भन्न सक्ने, न त आफूले निर्णय लिन सक्ने । यो समस्याबाट उनलाई उडान कक्षाले पार लगायो । गणेशपुरमा रहेको मदरसा अहिले सुन्नत फैजाने गैसीयामा कक्षा २ मा अध्ययनरत साहको अब उच्चशिक्षा पढ्ने सपना पूरा हुने भएको छ । 


उच्च शिक्षासम्म पढेर जागिर खाने इच्छा पूरा हुनेमा उनी ढुक्क छन् । ‘हाम्रो समुदायका दिदी बहिनी पढ्न छाडेर घरको काम गर्ने गरेको देखेकी छु । मेरो पनि त्यही हालत होला भन्ने लागेको थियो’, साहले भनिन्, ‘अब भने पक्कै पछि केही गर्छु ।’ कक्षामै उत्कृष्ट अंक ल्याउने साहले २ कक्षासम्म मदरसा र १ वर्ष उडान कक्षामा सहभागी भएपछि कक्षा ६ भर्ना भएकी हुन् ।


अहिले उनलाई परिवारले समेत साथ दिइरहेको छ । छोरीको पढ्ने इच्छा पूरा हुँदा बाआमा खुसी छन् । साह मात्र होइन, मदरसामा अध्ययन गर्ने बालबालिका विज्ञान र गणित विषय नहुँदा ती विषय पढ्न वञ्चित छन् । देशभर लगभग ३ हजार बढी मदरसा छन् । झन्डै ९० प्रतिशत मुस्लिम बालबालिका मदरसा पढ्छन् ।

 
मदरसामा जेनतेन कक्षा ४ सम्म अध्यापन हुने र त्यसपछिको पढाइ पूर्णविराम लाग्छ । मदरसालाई उच्च शिक्षाको अनुमति नहुँदा सो समुदायका किशोरी पढाइ अघि बढाउन सक्दैनन् । उनीहरूलाई मदरसाबाहेक अन्य विद्यालय पठाउन अभिभावक मान्दैनन् । अझ त्यसमा पनि अन्य समुदायका पुरुषले पढाउने कक्षामा जानु भनेको त झनै ठूलो कुरा हो । विद्यालय पढाइ छाडेका तथा विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सिद्धार्थ सामाजिक विकास केन्द्र र गाउँपालिकाले उडान कक्षा सञ्चालन गरेका हुन् ।


२०७६ बाट सञ्चालनमा ल्याइएको उडान कक्षामा १७५ दलित तथा मुस्लिम समुदायका किशोरी सहभागी छन् । सोही कारणले १०० मुस्लिम किशोरीलाई पुनः विद्यालय भर्ना गराउन सफल भएको हो । सोही गाउँकी दुर्गावती कहारको उमेर अहिले १५ वर्ष भयो । उडान कक्षामा सहभागी भएपछि उनलाई घर नजिकैको रामलौटन द्रोपतीदेवी माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना गरियो । कहारले कक्षा २ मा पढ्दापढ्दै २०७२ मा छाडेकी थिइन् ।


३ वर्षसम्म घरको काम गरेर दैनिकी बित्यो । बाख्रा हेर्ने उनको मुख्य जिम्मा थियो । उनका ३ दाजुभाइ भने विद्यालय जान्थे । उडान कक्षा सञ्चालन आएपछि उनलाई त्यहाँ भर्ना गरियो । गाउँपालिकाले घरघर पुगेर विद्यार्थी खोज्न थालेपछि अभिभावकले विद्यालय नपठाई सुखै पाएनन् । अहिले कहार दैनिक विद्यालय आउजाउ र होमवर्क गर्न भ्याई–नभ्याई छ । 


उनका बा रामसुरत लोहारले चेतनाको कमीका कारण छोरीको पढाइ छुटाएको महसुस गर्दै छन् । छोरीलाई पढाएर कुनै फाइदा नहुने भन्दै घरको काम गर्न आमालाई सघाए सहयोग हुने सोचले पढाइ छुटाएको बताउँछन्, उनी ।  ‘ज्ञान नहुँदा छुटाएको हुँ । अबको जमानामा छोरी पढाउनुपर्दो रहेछ’, लोहार भन्छन्, ‘हामीजस्तालाई पढाउन मन भए पनि आर्थिक अवस्थाका कारण सक्दैनौँ ।’


माया लोहारका दुई दिदी कक्षा ५ सम्म मात्र पढेर छाडे । २०/२२ वर्ष उमेरका उनका दिदीहरूलाई पढेर केही नहुने भन्दै परिवार अब विवाह गरिदिने सोचमा छ । मायाले पनि कक्षा ३ मै पढाइ छाडेकी हुन् । उडान कक्षा सञ्चालनपछि एक वर्षसम्म यही पढिन् । अहिले कक्षा ६ मा अध्ययन गरिरहेकी उनको शिक्षिका बन्ने इच्छा छ ।


रुढीवादी परम्पराबाट हुर्किएका अधिकांश अभिभावक किशोरीलाई विद्यालय भर्ना गर्न अनिच्छुक हुन्छन् । पछिल्लो समय भने अभिभावकमा केही चेतना आएको स्थानीय रामलौटन द्रोपतीदेवी माविका शिक्षक श्यामप्रकाश चौधरीको बुझाइ छ । छोरीप्रतिको व्यवहार मधेसी समुदायमा धेरै पुरानो हो । छोरीलाई पढाउनभन्दा छिटोछरितो बिहे गरेर पठाउनु यहाँको चलन छ । अझ त्यसमा पनि दाइजोले जरा गाडेको समुदायमा छोरी जन्मिएपछि पढाउनुभन्दा पनि दाइजो कति दिने भन्ने चर्चा हुन्छ । 


शिक्षक चौधरीका अनुसार मुस्लिम तथा दलित समुदायका बालिकालाई विद्यालय भर्ना गरे पनि टिकाउन नसक्ने समस्या छ । ‘अभिभावकमा छोरीको पढाइबारे चिन्ता हुँदैन । सुरुदेखि नै घरको चुह्लोचौको गर्ने र बिहे गरेर पठाउने जात भनिन्छ’, चौधरी भन्छन्, ‘पछिल्लो समय केही सुधार आयो । कतिपय अभिभावक छोरीलाई नपढाएकामा पश्चात्ताप मानिरहेका छन् ।’


प्रतिशिक्षक २५ जना बालिका पढाउने गरी उडान कक्षा सञ्चालन भएको हो । एक वर्षसम्म चलेको उडान कक्षामा सहभागी विद्यार्थीलाई अहिले पायक गर्ने विद्यालय भर्ना गरिएको छ ।  पालिकाभित्रका ४ स्थानमा ७ जना शिक्षकले अध्यापन गराउने गरी उडान कक्षा थालिएको थियो । त्रिनेत्र आधारभूत विद्यालय, रामलौटन द्रोपतीदेवी मावि, जनज्योति मावि र एक मदरसामा उडान कक्षा सञ्चालन गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका सुपरभाइजर तापस मिश्रले बताए ।


गाउँपालिकाले बालिकालाई शिक्षाको पहुँचमा ल्याउन साइकल, विद्यालय पोसाक, झोला, कपीकलमलगायत शैक्षिक सामग्री सहयोग गर्छ । कक्षा ५ अध्ययनपछि अधिकांशले विद्यालय छाड्ने समस्या भएपछि कक्षा ६ मा भर्ना हुने सबै बालिकालाई उक्त सामग्री दिन थालिएको हो ।
यो कार्यक्रमले पनि बालिकालाई विद्यालयप्रति आकर्षण बढ्ने र अभिभावकले पनि पढाउन इच्छुक रहने देखिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेको भनाइ छ ।
यो वर्ष उडान कक्षा सञ्चालन नभए पनि बालिकाहरूलाई विद्यालयप्रति आकर्षण बढाउन शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइएको बेल्वासेले बताए । वडा नम्बर ७ का वडाध्यक्ष दिनेश चौधरीले वडाका सबै घर पुगेर छोरी पढाउन अभिभावकलाई आग्रह गरेको जानकारी दिए । ‘हामी सबै घरमा पुगेर विद्यालय शिक्षामा जोड दिएका छौँ । प्रत्येक वर्ष बालिकाको संख्या बढ्दो छ’, चौधरी भन्छन्, ‘नागरिकमा चेतना नहुँदा साह्रै समस्या हुँदो रहेछ । विद्यालय गएपछि तल्लो जात तथा भागेर बिहे गर्छन् भन्ने डर छ । यो सबै शिक्षा अभावले भएको हो ।’


वडा नम्बर ५ का वडाध्यक्ष अनवर मुसलमानले मदरसापछि बालिकाको भविष्य के हुन्छ भन्ने मुस्लिम समुदायमा अन्योल छ । ‘यस समुदायका नागरिकले सामुदायिक विद्यालयमा छोरी पढाउन मान्दैनन् । मदरसामा विषय र शिक्षकको समस्या छ’, मुसलमान भन्छन्, ‘समाजले कुरा काट्ने डरले पनि छोरी पढ्नबाट वञ्चित हुनुपरेको छ ।’


अहिले विजयनगर गाउँपालिकामा १९ वटा मदरसा चालू छन् । अधिकांशमा १ देखि ४ सम्म पढाइ हुन्छ । यसमध्ये एउटा मदरसामा भने कक्षा ६ सम्म पढाइ हुने गरेको छ । मौलानाहरूले जेनतेन पढाइरहेका छन् । गाउँपालिकाले मदरसाको भौतिक संरचना निर्माणमा ध्यान दिँदा सहज भएको मुस्लिम अगुवाको भनाइ छ । मदरसामा पढ्ने विद्यार्थीमध्ये किशोरीको संख्या बढी छ । १२९५ छात्र र १६३६ जना छात्राले अहिले मदरसामा अध्ययन गरिरहेका छन् । 


पाँच वर्षे अवधिमा पढाइ छाडेका मुस्लिम तथा दलित किशोरीलाई पुनः विद्यालय फर्काउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । ‘उडान कक्षाले धेरै सहज भयो । बालिकालाई अध्यापन गराउन पालिकाले विभिन्न कसरत गरिरहेको छ,’ थापाले भने, ‘विद्यार्थीलाई मात्र नभई अभिभावकलाई सचेत बनाउन जरुरी छ ।’ 

 

विद्यालय भर्ना भएका किशोरीले पढाइ छाड्छन् कि भन्ने चिन्ता रहेको अध्यक्षको भनाइ छ । मुख्य समस्या दलित र मुस्लिम समुदायका बालिकामा रहेकाले निगरानी गरी समय–समयमा अभिभावकसँग समन्वय गरिनुपर्ने अध्यक्षको तर्क छ ।