close

तिलोत्तमा चिटिक्क पार्न अघि सरे नगरबासी

तिलोत्तमा चिटिक्क पार्न अघि सरे नगरबासी

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाइ अभियान ७८औँ शृंखलामा पुगेको छ । कोभिडका कारण प्रभावित सरसफाइ अभियान केही समय रोकिए पनि अहिले समुदाय स्तरबाटै नगरबासी नगर सफाइमा जुटेका हुन् ।

 

तिलोत्तमाले पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाइ अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । कोभिड प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संस्था सरसफाइमा सक्रिय रूपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । 

 

नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगरस्तरीय सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरूले तोकिएका दिन अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिन सफाइ कार्यक्रम चलाउँदै आएका छन् । 

 

बुधबार तिलोत्तमाको वडा नम्बर १ को शिवटोलमा नगरस्तरीय सरसफाइ गरिएको छ । नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्ष तामानाथ पाण्डेयलगायत जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लब, आमा समूहलगायतको सहभागितामा सरसफाइ गरिएको हो ।

 

नगरमा रहेका विभिन्न टोल विकास संस्थाले आ–आफ्नो क्षेत्रमा सरसफाइ गरेका छन् । सरसफाइ अभियन्ताले सुर्ती, गुट्खालगायत प्लास्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न नगरबासीलाई आग्रह गरेका छन् । प्लास्टिकजन्य फोहोरलाई जलाउँदा मानव स्वास्थ्यमा हानि पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न उनीहरूको आग्रह छ । 

 

नगर प्रमुख घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारबाही गरिने बताए ।

 

‘सबैको सामूहिक प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन सकिन्छ । अभियानमा सहभागी नगरबासीको सहयोग चाहिन्छ’, घिमिरेले भने । उप–प्रमुख चौधरी, वडा नम्बर १ का वडाध्यक्ष पाण्डेयलगायतले सरसफाइमा स्थानीय समुदायको पहल हुनुपर्नेमा जोड दिए ।