close

उज्यालो पर्व तिहार : पाँचै दिनका आ–आफ्नै महिमा

उज्यालो पर्व तिहार : पाँचै दिनका आ–आफ्नै महिमा

Trulli
ADVERTISEMENT

काठमाडौं–हिन्दु धर्मावलम्बीको उज्यालो पर्व तिहार । दसैँपछि आउने यो पर्वमा विशेषगरी धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी हर्षोल्लाससाथ मनाइने गरिन्छ । तिहारका बेला दिदीबहिनीले दाजुभाइलाई अरत्वको आशीर्वादसहित टीका लगाउने प्रचलन छ । तिहार धर्मसंस्कृतिसँगै सामाजिक रीतिथितिमा पनि आधारित पर्व हो । यो पर्वमा परिवार, समाजले सुखशान्ति र समृद्धिका लागि आ–आफ्नै तर्फबाट पाँचै दिन पर्ने पाँच वटै पर्व हर्षोल्लासका साथ मनाउँछन् ।


नेपालमा यो पर्व नेपाली हिन्दु पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ५ दिन मनाउने चलन छ । यो वर्ष कुकुर तिहार र काग तिहार एकै दिन परेको छ । यो दिन कुकुर र कागलाई पूजाआजा गरी मीठा–मीठा खानेकुरा पस्किइने परम्परा छ ।


धनधान्यकी प्रतीक मानिने लक्ष्मीको पूजा गरी घरभरि दियो बालेर तिहार पर्व मनाइन्छ । यसलाई यमपञ्चकको रूपमा मानिने गरेको छ । तिहारलाई उज्यालो पर्वको रूपमा पनि मनाउने चलन छ । वर्षका चार महत्त्वपूर्ण रातमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यो दिन सहरबजारका घरघरै गई भैलो खेल्ने चलन छ । बत्तीको झिलीमिली हुने भएकाले पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको आराधना गरिने हुँदा यसलाई यमपञ्चक भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ । 


किंवदन्तीअनुसार सूर्यका छोराछोरीमध्येकी यमुनाले दाजुबहिनी दाजु यमराजलाई केही समय कामबाट विश्राम लिएर आफूकहाँ आउन अनुरोध गरिन् । सोहीअनुसार यमराज यमुनाकहाँ कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसे । यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो ।


तिहारका पाँचै दिन महत्वपूर्ण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष खुसीयालीसहित मनाउने चलन छ । नेपालको सन्दर्भमा राणाकालमा पाँच दिनसम्म टँुडिखेलमै जुवा खेलाइने गरेको इतिहास एवं संस्कृतिविद् हरिराम जोशी बताउँछन् । उनी भन्छन्, ‘राणाकालीन समय तिहार पर्व पाँचै दिन मनाइन्थ्यो । काठमाडौं खाल्डोका नागरिक राणाको बोलावट भएपछि टुँडिखेलमा हाजिर हुनैपथ्र्यो ।’ यद्यपि हाल जुवातास कानुनी रूपमा वर्जित भए पनि खेल्ने र खेलाउने गरिन्छ ।


तिहारमा कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग सर्वभक्षी प्राणी भएको र अन्नबालीमा लाग्ने कीरा–फट्यांग्रा खाइदिने हुँदा पूजा गर्ने चलन रहेको हुन सक्ने जोशी सुनाउँछन् । कागलाई यमराजको दूत पनि मानिने भएकाले सम्मानस्वरूप यसको पूजा गर्ने धार्मिक मान्यता छ ।


यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यसबारे पनि विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहेका छन् । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन कुकुरलाई टीका तथा माला लगाएर मीठामीठा भोजन खुवाउने चलन छ । तिहारको चौथो दिन अर्थात् कार्तिक अमावश्याका दिन धुमधामले लक्ष्मीको पूजा गर्ने चलन छ ।

 

सुखरात्रि भनिने यो दिन बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ । घरलाई चोख्याएर र शृंगारपटार गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर यिनको पूजा गरिन्छ । यो दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउन दीपावली गर्ने प्रचलन बसाइएको विभिन्न धर्मग्रन्थमा उल्लेख रहेको संस्कृतिविद् जोशी बताउँछन् ।


पछिल्लो समय लक्ष्मी अर्थात् धन–सम्पत्ति जोरजाम गर्ने मनोकांक्षासहित हुनेखानेले थप धनार्जन गर्न र विपन्नले धन कमाउन सकियोस् भन्ने लालसामा भक्तिपूर्वक लक्ष्मीको पूजा गर्छन् । यो रात लक्ष्मी अकासमा घुमफिर गर्ने हुँदा भक्तलाई ऐश्वर्य, सुख शान्ति दिने विश्वासका साथ मानिसहरू रातभर जाग्राम बस्छन् । 


तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्ल परेवाका दिन गाईको पूजा गरिन्छ । हिन्दु धर्ममा गाईलाई आमासमान मानेर पुज्ने गरिन्छ । गाई पूजाका दिन गोवद्र्धन पर्वत तथा बलि राजाको पूजा हुन्छ । गोवद्र्धन पर्वत पूजाको प्रसंग भगवान् कृष्णसित पनि जोडिएको संस्कृतिविद् जोशी बताउँछन् । 


गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर श्रद्धा र भक्तिका साथ गोवद्र्धन पूजा गरिन्छ । यो दिन भगवान् विष्णुका भक्त इन्द्रशत्रु राजा बलिको पूजा गरेर लक्ष्मीलाई खुसी पारिन्छ । यो दिन गोरुको पनि पूजा गर्ने चलन छ । तिहारको महत्वपूर्ण दिन भाइटीका । कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको अटल शौभाग्यको कामनासहित टीका लगाइदिन्छन् । यो दिन दिदीबहिनीले यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक परम्परा छ ।

 

सप्तरंगी टीकाका साथ दुबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । ओखर फुटाएर दाजुभाइको दीर्घायुको कामनासहित टीका लगाएपछि मिठाई,  फलफूल तथा मसलाको उपहार दिने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन् । संस्कृतिविद् जोशीका अनुसार यो दिन भाइलाई लिन आएका यमदूतलाई दिदीले रोकेर काल टारेको प्रसंग पनि जोडिएको छ ।


भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजलाई बोलाउने, ओखर, तेल, बिमिरो, मखमलीको माला, दुबोको टीकालगायत प्रयोग गरिनु दिदीबहिनी र दाजुभाइको सुख, आरोग्य एवं दीर्घायुको कामना गर्ने परम्परासँग गासिँएको छ ।