close

नेवार समुदायमा म्हपूजाको रौनक

नेवार समुदायमा म्हपूजाको रौनक

Trulli
ADVERTISEMENT

भक्तपुर–काठमाडौं उपत्यकाका नेवार समुदायले शुक्रबार म्हपूजा हर्षोल्लास साथ मनाउँदै छन् ।  प्रत्येक वर्षको कार्तिक शुक्लप्रतिपदाको दिन नेवार समदायले म्हपूजा मनाउने प्रचलन छ । शुक्रबार साँझ परिवारका सबै व्यक्ति जम्मा भई म्हपूजा गर्ने परम्परा छ । म्हको शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हपूजाको अर्थ आफ्नो देहको पूजा हो । 


यसरी आत्माको पूजा गर्नुलाई म्हपूजा भनिने संस्कृतविद् ओम धौभडेल सुनाउँछन् । उनले यो पर्व नेवार समुदायका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताए । म्हपूजाका लागि अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । 


म्हपूजा गर्न विभिन्न रंग प्रयोग गरी बनाइएको मण्डप, फलफूल, फूल, धुपबत्ती, जंकोखा, अन्डा, माछा, मासु, अदुवा, लसुन, दहीलगायत सामग्री आवश्यक पर्दछ । यसैगरी मुतिमरी, द्योमरी, सेलमरी, हल्वाई मरिलगायत मिठाई परिकार प्रयोग हुन्छ । फलफूलमा अम्बा, केरा, टसी, भोगटे आवश्यक पर्दछ । 


घरमूलीले परिवारका अन्य सदस्यलाई टीका, सगुन लगाइदिएर पूजा गरिन्छ । नेवार समुदायमा पूजा सकिएपछि भोज खाने प्रचलन रहेको हुन्छ । म्हपूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनुका साथै जीवन सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । आजको दिन नेवार समुदायले चुल्हो, गाग्रीलगायत दैनिक प्रयोग हुने सामग्रीलाई पूजा गर्ने प्रचलन छ ।